२०८२ फाल्गुन २९

चौतारा अस्पतालमा सामाजिक परीक्षण: सेवामा सुधार

सिन्धुपाल्चोक – चौतारा अस्पतालले सेवाग्राहीको समस्या, गुनासा र समाधानका उपाय पहिचान गर्न सामाजिक परीक्षण अन्तर्गत आमभेला सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालले प्रदान गरिरहेका सेवा, बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । सामाजिक परीक्षणका क्रममा सेवाग्राहीहरूले अस्पतालमा सेवा लिँदा भोग्नुपरेका विभिन्न चुनौतीबारे आफ्ना धारणा राखेका थिए । विशेषगरी शल्यक्रिया सेवा लिँदा रगतको अभावका कारण बिरामीलाई समस्या हुने गरेको गुनासो सहभागीहरूले राखे। साथै दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि श्रव्य संकेत प्रणालीको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको थियो ।यद्यपि सहभागीहरूले अस्पतालले पछिल्लो वर्षको तुलनामा सेवा विस्तार गर्दै बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न थालेको भन्दै खुशी व्यक्त गरेका थिए । अस्पतालले हप्ताको ६ दिन सञ्चालन हुने बहिरंग सेवामार्फत सामान्य चिकित्सा, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, आँखा, दन्त, जनरल फिजिसियन लगायतका सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै नाक–कान–घाँटी, छाला तथा बालरोग विशेषज्ञ सेवा महिनामा एकपटक उपलब्ध गराइँदै आएको छ। अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, प्रसुती सेवा, शल्यक्रिया सेवा, प्रयोगशाला, फार्मेसी तथा हेमोडायलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ ।यसका साथै अस्पतालमा आमा सुरक्षा कार्यक्रम, एकद्वार संकट व्यवस्थापन केन्द्र, शीघ्र कुपोषण पुनःस्थापना कार्यक्रम, एचआईभी परामर्श तथा उपचार (एआरटी), स्वास्थ्य बीमा कार्यक्रम र सामाजिक सेवा इकाइ लगायतका कार्यक्रम पनि सञ्चालनमा छन्। अस्पताल सुधारका लागि टिकट काउण्टरमा सहज पहुँच, फार्मेसी व्यवस्थापन, सुरक्षा गार्डको व्यवस्था, औषधि प्रयोग तालिका सहितको बिल दिने प्रणाली, सामाजिक सेवा इकाइ सञ्चालन, क्यान्टिन, प्रतीक्षालयमा बस्ने व्यवस्था तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै ओपिडी सेवा सञ्चालन गरिएको जानकारी दिएको छ । सामाजिक परीक्षण प्रतिवेदनले अस्पतालमा विगतको तुलनामा सेवामा उल्लेखनीय सुधार भएको देखाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीका अनुसार ५० शैयाको यस अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, ल्याब, फार्मेसी, भिडियो एक्स–रे तथा फिजियोथेरापी सेवा प्रदान गरिरहेको छ।

अस्पतालले अहिले पाँच बेडको डायलाइसिस वार्ड स्थापना गरी हेमोडायलाइसिस सेवा सञ्चालनमा गरिरहेको छ । साथै रक्तसञ्चार केन्द्र स्थापना, एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली , सी–आर्म प्रविधिमार्फत अर्थोपेडिक शल्यक्रिया, ५०० एमए क्षमताको डिजिटल एक्स–रे मेसिन सञ्चालन, अक्सिजन पाइपलाइन जडान तथा जनरल एनेस्थेसिया मेसिन जडान जस्ता महत्वपूर्ण सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ। त्यस्तै मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवा, आँखा उपचार सेवा, छाला तथा ईएनटी विशेष क्लिनिक सञ्चालनमा ल्याइएको छ भने प्रयोगशाला सेवामा बायोकेमिस्ट्री परीक्षण थप गरिएको छ। आगामी आर्थिक वर्ष २०८२÷०८३ मा अस्पतालले एचडीयू तथा आईसीयू सेवा सञ्चालन, सौर्य ऊर्जा जडान, लिफ्ट स्थापना, अक्सिजन रिफिल सेवा विस्तार, अनलाइन ओपिडी टिकट प्रणाली लागू, डायलाइसिस सेवा विस्तार तथा माइक्रोबायोलोजी ल्याब स्थापना गर्ने योजना अघि सारेको छ।

यसका साथै टेकु अस्पतालसँग सहकार्य गरी महिनामा दुई पटक फिजिसियन, बालरोग तथा छाला रोग विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। सामाजिक परीक्षणले अस्पतालका केही चुनौतीहरू पनि औँल्याएको छ। आवश्यक स्वास्थ्यकर्मी पदपूर्ति, मनोपरामर्श सेवालाई निरन्तरता, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउने, निःशुल्क औषधिको नियमित आपूर्ति तथा स्वास्थ्य सेवाबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सहभागीहरूले अस्पतालले पूर्वाधार विकास र सेवा विस्तारमा देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान हुने अपेक्षा व्यक्त गरेका छन्। २०७२ सालको विनाशकारी भूकम्पले अस्पतालको पुरानो संरचना पूर्णरूपमा ध्वस्त बनाएपछि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार चिनियाँ निर्माण कम्पनीले अत्याधुनिक पूर्वाधारसहित नयाँ भवन निर्माण गरेको थियो। हाल ३९ वटा सुविधा सम्पन्न कोठासहितको भवनबाट अस्पतालका सम्पूर्ण सेवा सञ्चालन हुँदै आएका छन्। सामाजिक परीक्षणअन्तर्गत आमभेला जुगल मिडिया एन्ड रिसर्च प्रा।लि। को समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष केशव रराज गिरी, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडा अध्यक्ष शिव श्रेष्ठ तथा मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्रमणी भण्डारी ले सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्