२०८२ फाल्गुन ६

फिर्ता जान लागेकाे चिनियाँ लगानी यसरी राेक्याैँ….

बाह्रबिसे/ चिनियाँ लगानीमा निर्माण सम्पन्न भएको बाह्रबिसे नगरपालिका -२ बुदेपास्थित सुनकाेशी माध्यमिक विद्यालयकाे आन्तरिक कथा स्थानीयले जान्नैपर्ने भएको छ ।

सन् २०२२ मा चीनको एजेन्सी फर इन्टरनेशनल इकाेनाेमिक काेअपरेशन अफ द मिनिस्ट्री अफ कमर्सले भाेटेकाेसीकाे लिस्तीस्थित उग्रचण्डी मावि र बाह्रबिसेकाे सुनकाेशी मावि पुनर्निर्माण गर्ने याेजना लिएर सरकारसँग सम्झाैता गर्याे । उग्रचण्डी माविका लागि मनग्ये जग्गा थियाे । तर, सुनकाेशी मावि बुदेपाका लागि जग्गा नै निश्चित भएन । विद्यालय प्रशासन र व्यवस्थापन समितिले धेरै प्रयत्न गर्याे । तर, जग्गाको टुंगाे लागेन । जग्गा किन्न आर्थिक समस्या आइलाग्याे । विद्यालयसँग चारपाँच लाखमात्रै थियाे । जग्गा किन्न २०-३० लाखसम्म लाग्ने अनुमान गरिएको थियाे । धेरै ठाउँबाट प्रयास भएर नसकेपछि चिनियाँ लगानी फिर्ता जाने भयाे । तर, अन्ततः बुदेपाका युवा समूह जुर्मुरायाे ।

बुदेपा काठमाडौं सम्पर्क समितिमा आवद्ध युवा चन्दा उठाएरै विद्यालयलाई जग्गा किन्ने निर्णयमा पुग्याे । नयाँ विचार र केही गराैँ भन्ने भावनाबाट ओतप्रोत भएका बुदेपाका युवाले चन्दा संकलन अभियान सुरु गरे । बुदेपा काठमाडौं सम्पर्क समितिका संयोजक तथा पूर्वविद्यार्थी समाजका अध्यक्ष शारदाप्रसाद पराजुली, स्थानीय अगुवा समाजसेवी राजकुमार बस्नेतले चन्दा संकलन अभियानको नेतृत्व गरे । विभिन्न संघसंस्था र व्यक्तिसँग हारगुहार गरेर १९ लाख रकम संकलन भयाे । त्यसपछि विद्यालयका प्रअ हरि बुढाथोकीसँग सल्लाह गरेर २२ लाखमा जग्गा खरिद गरियाे । “हामीले चन्दा संकलन नगरेकाे भए जग्गा खरिद सम्भव थिएन,” बुदेपा काठमाडौं सम्पर्क समितिका संयोजक शारदाप्रसाद पराजुलीले भने, ” चिनियाँ लगानी फिर्ता जानबाट राेक्न हामी सफल भएका हाैँ ।” त्यसैगरी स्थानीय अगुवा राजकुमार बस्नेतले भने,” हामीले बुदेपा, हाम्रो विद्यालय र समाजको इमान जाेगाउन अभियान चलाएका थियाैँ ।” गाउँ समाजको विकास, सुखदुःख र विपदमा बुदेपाका युवाले यस्तै अभियान चलाउने गरेकाे बस्नेतले सुनाए । बुदेपा युवाको अगुवाइमा १३५ जना विभिन्न संस्था र व्यक्तिले चन्दा संकलनमा साथ दिएका थिए । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा नेकपाबाट प्रत्यक्ष उम्मेदवार माधव सापकोटा सुवाेधले २५ हजार, बागमती प्रदेश सांसद सरल सहयात्री पाैडेलले ४० हजार, सुनकाेशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना ५१ हजार , सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले एकलाख चन्दा दिएका थिए । तीन वर्षमा चिनियाँ कम्पनीले विद्यालय भवन ठड्याएकाे छ । केही महिनाभित्रै नेपाल सरकार शिक्षा मन्त्रालयलाई विद्यालय हस्तान्तरण गरिँदैछ ।चन्दा संकलन अभियानमा निम्न महानुभावले रकम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्