२०८२ फाल्गुन ५

तारा चिन्हसहित दुलालको घरदैलो अभियान सुरु

गुन्सा | फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै गएको छ । सोही क्रममा नेकपाको तर्फबाट उमेदवारी दिएका युवराज दुलालले आफ्नो घरदैलो अभियान पाँचपोखरी थाङ्गपाल गाउँपालिका बाट औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।
तारा चिन्ह अंकित झण्डा र नारासहित सुरु गरिएको अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै दुलालले विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवा सुधारका एजेन्डा प्रस्तुत गरेका छन् । साथै, उनले आफ्नो बहुप्रचारित ‘विकासको बाकस’ परियोजनाको थप सुदृढ र परिमार्जित स्वरूप ‘विकासको बाकस–२’ को अवधारणा पनि सर्वसाधारण माझ राख्दै आएका छन् ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्नो परम्परा र संस्कृति अनुसार दुलाललाई भव्य स्वागत गरेका थिए । विभिन्न टोलमा पुगेका दुलाललाई फूलमाला, खादा र स्थानीय बाजागाजासहित स्वागत गरिएको थियो ।


घरदैलो अभियानका क्रममा उनले जनताका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै, आफू निर्वाचित भएमा क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहने विश्वास दिलाएका छन् । “जनताको चाहना र आवश्यकता नै मेरो चुनावी एजेन्डा हो,” उनले भने, “सिन्धुपाल्चोक क्षेत्र नम्बर २ लाई समृद्ध र अवसरयुक्त बनाउने दिशामा म निरन्तर लागिरहनेछु ।”
विगतमा प्रदेश सभा सदस्य तथा प्रदेश मन्त्रीको जिम्मेवारी सम्हालिसकेका दुलाललाई मतदाताहरूबीच विकासप्रेमी नेताका रूपमा लिइन्छ। स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो समय निराशा बढिरहेका बेला दुलाल आशाका रूपमा उभिएको महसुस गरिएको छ।
घरदैलो अभियानका क्रममा स्थानीयले सडक स्तरोन्नति, खानेपानीको व्यवस्था, कृषि उत्पादनको बजारीकरण तथा युवा स्वरोजगारका विषयमा आफ्ना धारणा राखेका थिए। निर्वाचन नजिकिँदै जाँदा क्षेत्रका गाउँबस्तीमा राजनीतिक चहलपहल थप बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्