२०८२ माघ २९

मेलम्ची–८ मा काङ्ग्रेसका युवा नेताहरू नेकपामा

सिन्धुपाल्चोक । पछिल्लो समय युवापुस्तामा राजनीतिक ध्रुवीकरण तीव्र बन्दै जाँदा मेलम्ची नगरपालिका-८ मा उल्लेखनीय राजनीतिक परिवर्तन देखिएको छ । नेपाली काङ्ग्रेस वडा ईकाई सहसचिव जयराम तामाङ र तरुण दलको इकाई सभापति  सुरेश तामाङ सहित विजय तामाङ, सुदिप तामाङ, मिङ्मार तामाङ, फुर्पा तामाङ, तोयानाथ गिरी, दिनेश गिरी र युवराज गिरी लगायतका युवाहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।


एक विशेष कार्यक्रमका बीच सिन्धुपाल्चोक-२ प्रतिनिधि सभा सदस्यका उम्मेदवार युवराज दुलालले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै दुलालले पछिल्लो समय जेन-जी पुस्ता परिवर्तन, पारदर्शिता र विकासको एजेण्डासहित अगाडि बढ्न चाहिरहेको उल्लेख गरे ।
उनले भने,“आजको युवा पुस्ता केवल नारामा होइन, परिणाममा विश्वास गर्छ । देश र जिल्लाको समृद्धिका लागि स्पष्ट दृष्टिकोण र इमानदार नेतृत्व आवश्यक छ । युवाहरुको यो साथले हाम्रो अभियानलाई अझ मजबुत बनाएको छ ।”
दुलालले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जिल्लाको दीर्घकालीन विकासका लागि सहकार्य गर्न आग्रह गर्दै नवप्रवेशीहरुलाई पार्टीभित्र उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे ।


स्थानीय तहदेखि संघीय निर्वाचनसम्म राजनीतिक माहोल तातिरहेको बेला मेलम्ची-८ मा देखिएको यो प्रवेश कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ । युवाहरुको बढ्दो सहभागिताले आगामी निर्वाचनमा नयाँ समीकरण बन्ने संकेत दिएको स्थानीय विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्