दिपक खत्री, चौतारा । सिन्धुपाल्चोक जिल्लामा वनडढेलो नियन्त्रण तथा रोकथामका लागि तिमीहरूलाई लक्षित गर्दै पूर्वतयारी अभिमुखीकरण तथा फिल्ड अभ्यास तालिम सम्पन्न भएको छ। आईतबार डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा र फरेस्ट एक्सन नेपालको सहकार्यमा डिभिजन वन कार्यालयकै सभा हलमा उक्त तालिम कार्यक्रम सञ्चालन गरिएको हो।
तालिमका क्रममा फरेस्ट एक्सन नेपालका सिन्धुपाल्चोक समन्वयक मदन बत्स्यालले वनडढेलो नियन्त्रण, सुरक्षा सावधानी, डढेलोका प्रकार, हावाको चाप तथा भू–गोलको अवस्थासँग डढेलोको सम्बन्धबारे प्रशिक्षण दिए ।
त्यस्तै, हरित स्वयंसेवक समन्वयक सिन्धुपाल्चोक शारदा प्रसाद चालिसेले वनडढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण तथा औजार, वाटर ब्याग, र्याकेट फायर सटर चलाउने तरिका र तिनले गर्ने कामबारे फिल्ड अभ्यासमार्फत जानकारी गराए ।
कार्यक्रममा बोल्दै डिभिजनल प्रमुख मदन कडेलले वनडढेलो न्यूनीकरणका लागि स्थानीय सरकार, सामुदायिक वन समूहहरूसँग समन्वय गर्दै थप तालिम प्रदान गरिने र वनडढेलो व्यवस्थापनमा प्रचार–प्रसारलाई तीव्र बनाइने विषयलाई डिभिजन वन कार्यालयले प्राथमिकतामा राख्ने बताए।
उक्त कार्यक्रममा श्री इन्द्रध्वज गण, सिन्धुपाल्चोक , सशस्त्र प्रहरी १६ नम्बर गण, तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुरक्षा कर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण फरेस्ट एक्सन नेपालका अनुसन्धानकर्ता मनिष श्रेष्ठले गरे ।
प्रतिक्रिया दिनुहोस्