२०८१ श्रावण १२
                           

‘हामी सबै अपाङ्ग हौं’, मेयर तामाङ

आफूहरुलाई हेला नगर्न अपाङ्गता भएकाहरुको माग

चौतारा- २८ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवसको अवसरमा अपाङ्ता भएका व्यक्तिहरुले आफूहरुलाई हेला नगर्न माग गरेका छन् । राज्यबाट प्राप्त हुने सेवा सुविधाहरु समेत स्थानीय सरकारले दिन कन्जुस्याई गरेको भन्दै उनीहरुले जनप्रतिनिधिहरुलाई त्यसतर्फ ध्यानाकर्षित गराए ।

‘दिगो विकाशको लक्ष्य, अपाङ्गमैत्री भविष्य’ भन्ने मूल नाराका साथ मंगलबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित शहिद प्रतिष्ठानमा २८ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवस मनाईएको छ । अपाङ्ता भएका व्यक्तिहरुको गुनासोलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सबै व्यक्ति कुनै न कुनै कुरामा अपाङ्ग हुनेभएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना गर्न नहुने बताए ।

दिवसलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ ।

‘हामी सबै अपाङ्ग हौं’, मेयर तामाङले भने– ‘कोहि आर्थिक रुपमा, कोहि शैक्षिक रुपमा, कोही सामाजिक रुपमा अपाङ्ग नै छौं । तसर्थ अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना गर्नु भनेको आफैंलाई अपहेलना गर्नु हो ।’ आपूm पनि शैक्षिक रुपमा अपाङ्गता भएको जनाउँदै नगरपालिकाले अपाङ्गता भएकाहरुको हक र हितमा सदैव लागिपर्ने बताए ।

‘अपाङ्गता भएका व्यक्तिहरु नगरका गहना हुन्’, तामाङले भने– ‘त्यसकारण नगरबाट अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधान गर्न हामी प्रयत्नशील छौं ।’ अपाङ्ता भएकाहरुको क्षमतालाई शसक्त रुपमा विकास गर्न योजना सहित नगरपालिकामा आउँदा त्यसको सम्बोधन हुने मेयर तामाङले बताए । ‘तपाईहरु प्रष्ट खाका लिएर आउनुस्, त्यसको सम्बोधन नगरले गर्छ,’ उनले भने ।

दिवसको अवसरका निकालिएको र्याली ।

चौताराको टुँडिखेलबाट र्यालीसहित बजार परिक्रमा गरी आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै सिन्धुपाल्चोक नेत्रहिन संघका अध्यक्ष सोमकुमार दुलालले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्ग परिचयपत्र वितरणमा देखिएको समस्या, बजेट बाँडफाँडमा प्राथमिकता दिनुपर्ने, स्वास्थ्य शिविर गर्नुपर्ने, सीप तथा तालिमको व्यवस्था गर्नुपर्ने लगायतकोसमस्या जनप्रतिनिधिहरुलाई राखेका थिए ।

उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै सिन्धुपाल्चोक नेत्रहिन संघका अध्यक्ष सोमकुमार दुलाल ।

कार्यक्रममा नगरपालिकाका अधिकांश जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । जनप्रतिनिधिहरुले नगरको कार्यविधि नै परिमार्जन गरेर भएपनि अपाङ्गता भएका व्यक्तिहरुको हकहितलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको सहयोगको लागि सधैं तयार रहेको बताए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको अगुवाईमा भएको कार्यक्रमलाई सिन्धुपाल्चोक नेत्रहिन संघ, नेत्रहिन विकास संस्था, अपाङ्ग सुरक्षा तथा ग्रामीण विकास संस्था, अपाङ्ग समन्वय तथा सीप विकास केन्द्रलगायत १२ वटा संस्थाले संयुक्त रुपमा गरेका थिए । त्यस्तै कार्यक्रमलाई चौतारा साँगाचोकगढी नगरपालिका, एचआई, सिडिईसिएफले सहयोग गरेको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका अध्यक्ष दिपक अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्