२०८२ माघ १४

न्यायिक प्रक्रिया सरल बनाउने दिशामा चौतारा साँगाचोकगढीको कदम

चौतारा  | चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ र ५ मा न्यायिक शाखा/न्यायिक समिति र मेलमिलापकर्ताबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्थानीय तहमा न्यायलाई सहज, छरितो र मानवीय बनाउने उद्देश्यसहित वडास्तरमै न्यायिक प्रक्रिया प्रभावकारी बनाउने विषयमा केन्द्रित रही बैठक आयोजना गरिएको हो ।
बैठकमा उप–प्रमुख तथा न्यायिक समिति संयोजक सिता थापा, वडा नं. १ का अध्यक्ष युवलाल श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठ, न्यायिक समिति सदस्यहरू रवि खत्री र रामशरण अधिकारी तथा मेलमिलापकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
छलफलका क्रममा सम्बन्धविच्छेदजस्ता संवेदनशील विषयहरू, मेलमिलापमार्फत विवाद समाधान गर्ने प्रक्रिया, वडामै मुद्दा दर्ता गर्ने व्यवस्था, मेलमिलापकर्ता व्यवस्थापन केन्द्रको स्थापना तथा सञ्चालन, साथै वडाको कुन भू–भागमा न्यायिक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा गहन विचार–विमर्श गरिएको उप–प्रमुख थापाले जानकारी दिइन् ।


बैठकले वडास्तरमै मेलमिलाप केन्द्र स्थापना गरी सञ्चालन गर्ने तथा विवादका विषयहरूलाई विधि र प्रक्रियाअनुसार लिपिबद्ध गर्दै दर्ता गर्ने निर्णय गरेको छ । यसबाट न्यायिक प्रक्रियामा पारदर्शिता बढ्ने र सर्वसाधारणले आफ्नै वडाबाट सहज रूपमा न्याय पाउने विश्वास लिइएको छ ।
स्थानीय स्तरमै संवाद, समझदारी र मेलमिलापलाई प्राथमिकता दिँदै विवाद समाधान गर्ने यो प्रयासले नगरपालिकामा सामाजिक सद्भाव, विश्वास र सहकार्यको वातावरण थप मजबुत बनाउने सहभागीहरूको धारणा रहेको थियो ।

 

स्वर्णयुगबाट

प्रतिक्रिया दिनुहोस्