अस्ट्रेलिया — अस्ट्रेलियाको गभर्नर–जनरलले सार्वजनिक गरेको Australia Day 2026 Honours List मा न्यू साउथ वेल्सस्थित लालोर पार्क निवासी भरत नेपाललाई नेपाली समुदाय र मानसिक स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय सेवाका लागि‘अर्डर अफ अष्ट्रेलिया मेडल (OAM) प्रदान गरिएको छ।
सन् २०१२ मा स्थापना भएको अष्ट्रेलियन नेपाली पब्लिक लिङ्क इन्क(Australian Nepali Public Link Inc) का संस्थापक अध्यक्ष रहेका भरत नेपाल हाल पनि संस्थाका सार्वजनिक अधिकारी तथा सल्लाहकारको भूमिकामा सक्रिय छन्। नेपाली समुदायको सामाजिक सशक्तीकरण, सेवा पहुँच विस्तार र मानसिक स्वास्थ्य सचेतनामा उनले दीर्घकालीन योगदान पुर्याउँदै आएका छन्।
स्वास्थ्य क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय रहेको छ। सन् २००३ देखि न्यू साउथ वेल्स हेल्थसँग विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उहाँले Health Education Officer, Mental Health First Aid Instructor, counsellor, researcher र advocate को रूपमा सेवा दिँदै आउनुभएको छ। सन् २०२४ मा वेस्टर्न सिड्नी विश्वविद्यालयमा आयोजित दक्षिण एशियाली आत्महत्या रोकथाम शिखर सम्मेलनका सह–संयोजकसमेत रहेका नेपाल ‘जस्टिस अफ द पीस’को भूमिकामा पनि कार्यरत छन्।
गभर्नर–जनरलले सम्मान सूची सार्वजनिक गर्दै भन्नुभयो, “यस वर्ष सम्मानित व्यक्तिहरूले सेवा, समुदाय, दया, जिज्ञासा, दृढता र हेरचाहजस्ता अस्ट्रेलियाली मूल्यहरूलाई प्रतिनिधित्व गर्छन्। अरूको हितका लागि आफूलाई समर्पित गर्ने सबैलाई बधाई।”
Australia Day 2026 Honours List अन्तर्गत Order of Australia (General Division) मा ६८० जना, Military Division मा २२ जना, Meritorious awards मा १८७ जना तथा Distinguished र Conspicuous awards मा ६० जनालाई सम्मान गरिएको छ। सम्मानित व्यक्तिहरूले आगामी महिनाहरूमा आफ्ना–आफ्ना राज्य वा क्षेत्रका Government House मा आयोजित विशेष समारोहमा औपचारिक रूपमा पदक ग्रहण गर्नेछन्।
भरत नेपालको यो सम्मानलाई अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले गर्वका साथ स्वागत गरेका छन्, जसले समुदाय सेवा र मानसिक स्वास्थ्य क्षेत्रमा नेपाली मूलका व्यक्तिहरूको योगदानलाई राष्ट्रिय स्तरमा उजागर गरेको छ।






