सिन्धुपाल्चोक | आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूसँग आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा निर्वाचन सफल बनाउन सबै सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण हुने भन्दै आचारसंहिताको अक्षरशः पालना गर्न आग्रह गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका क्रममा हुने प्रचारप्रसार, समाचार सम्प्रेषण र सार्वजनिक अभिव्यक्तिमा मर्यादा कायम राख्नुपर्नेमा जोड दिएको छ ।अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिता मार्फत मतदातालाई सही सूचना पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, राजनीतिक दलका प्रतिनिधिहरूले मर्यादित चुनावी अभियान सञ्चालन गर्ने र कुनै पनि किसिमका भ्रामक सूचना तथा नकारात्मक प्रचारबाट टाढा रहने धारणा राखेका थिए ।

छलफलका क्रममा सामाजिक सञ्जालको बढ्दो प्रभाव, अफवाह नियन्त्रण र गलत सूचनाले निर्वाचनमा पार्न सक्ने असरबारे पनि गम्भीर चर्चा गरिएको थियो । निर्वाचन अधिकारीहरूले समयमै सही सूचना प्रवाह गर्न कार्यालय सदैव तयार रहने जनाउँदै सञ्चारमाध्यमसँग सहकार्य अझ प्रभावकारी बनाइने बताएका छन् ।
कार्यक्रमले निर्वाचन प्रक्रियामा पारदर्शिता, विश्वास र उत्तरदायित्व कायम राख्न सबै पक्षबीच सहकार्यको आवश्यकता रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्