२०८२ फाल्गुन २७

शहिद पार्क छ, तर शहिदका शालिक कोठाभित्र छन्

दिपक खत्री, सिन्धुपाल्चोक | त्रिपुरासुन्दरी गाउँपालिका–४, पिस्करमा एउटा पार्क छ—नाम शहिद पार्क । तर विडम्बना, यही पार्कका नाममा निर्माण गरिएका शहिद इले थामी र वीरबहादुर थामीका शालिक आज पार्कमा छैनन् । ती शालिक अहिले वडा नम्बर ४ मा रहेको स्थानीय संग्रहालयको एउटा सानो कोठाभित्र थन्किएका छन्—ढोकाभित्र, मौन अवस्थामा ।

२०४० साल पुस ३० गते पिस्करको इतिहासले निर्णायक मोड लियो । स्थानीय बासिन्दाहरू सांस्कृतिक कार्यक्रममार्फत पञ्चायती शासनविरुद्ध जनचेतना फैलाइरहेका थिए । कार्यक्रम सकिन नपाउँदै सुरक्षाकर्मीले गोली चलाए । त्यही गोलीले इले थामी र वीरबहादुर थामीको जीवन अन्त्य ग¥यो ।

तर उनीहरूको मृत्युले पिस्करलाई चुप लाग्न दिएन । त्यस दिनपछि यो घटना पिस्कर हत्याकाण्डका नामले चिनिन थाल्यो । समयक्रमसँगै राज्यले इले र वीरबहादुर थामीलाई शहिद घोषणा ग¥यो । उनीहरूको स्मृतिमा शहिद पार्क निर्माण गर्ने निर्णय भयो । शालिक बने, पार्कको नामाकरण पनि भयो । तर बजेट अभाव, योजनाको निरन्तरता नहुनु र संरचनागत लापरबाहीका कारण पार्क अधुरै रह्यो ।

पार्कमा शालिक राख्ने अवस्था नबनेपछि “अहिलेका लागि कोठामै राखौँ” भन्ने निर्णय गरियो। पिस्करका पूर्व वडा अध्यक्ष भोटोल थामी भन्छन्, “शहिदका शालिक पनि बन्द कोठाभित्रै थन्किएका छन्। बजेट नहुँदा काम अलपत्र परेको हो।” उनका अनुसार, माघ १६ गते शहिद दिवसका अवसरमा संग्रहालयमा राखिएका शालिकलाई पार्कमै स्थापना गर्ने उद्देश्यले स्थानीय युवाहरूले चन्दा संकलन गर्दै अभियान सुरु गरेका छन्।

४२औँ पिस्कर शहिद स्मृति दिवसका अवसरमा पिस्कर भने सुनसान थियो । तर काठमाडौँमा फरक दृश्य देखियो। यस क्षेत्रका नेता तथा लेखक शरेस नेपालद्वारा लिखित पुस्तक ‘जेलभित्रका संघर्ष’ को विमोचन गरियो। पुस्तकले पिस्कर हत्याकाण्ड, त्यसपछिको राज्य दमन, जेल जीवन र आन्दोलनका भित्री कथाहरू उजागर गरेको छ । एक स्थानीयको भनाइ छ—“शालिक बन्द कोठाभित्र भए पनि, यो पुस्तकले शहिदलाई फेरि सार्वजनिक बनाइदिएको छ।”

हरेक वर्ष माघ १ आउँछ। तर शहिदका शालिक पार्कमा उभिन नसक्दा पिस्करमा स्मृति दिवस प्रतीकात्मक मात्र बनेको छ। स्थानीयको चाहाना स्पष्ट छ—शहिदका शालिक खुला र सुरक्षित स्थानमा स्थापना गरियोस् ।

पिस्करको घटनाबाट धेरै नेता र राजनीतिक हस्ती उदाए । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरूको भूमिगतकालको आश्रयस्थल बन्यो पिस्कर । यही घटनाबाट माधव पौडेल र अमृतकुमार बोहरा जस्ता व्यक्ति सांसद, मन्त्री हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भए । तर पिस्कर भने उस्तै छ।

शहिदको सम्झनामा शहिद गेट र संरचना निर्माण गरिए पनि, शहिदका शालिक भवनभित्र थन्किएका छन्। शहिद पार्कमा शहिदका शालिक नै छैनन्। झारपात उम्रँदै जाँदा पार्क क्रमशः खण्डहरमा परिणत हुँदैछ ।

प्रदेश सरकार र स्थानीय तहको करिब १५ लाख रुपैयाँ बजेटमा काम सुरु गरिएको थियो। तर योजना अधुरै रहँदा आज शहिदका शालिक बन्द कोठाभित्र छन् र शहिद पार्क शहिदविहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्