चौतारा- चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोना भाईरस रोकथामको लागि वडा नं. ७ स्थित मेलचौरमा आइसोलेसन वार्ड निर्माण गर्ने जनाएको छ ।

बिहीबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले मेलचौरको दरबारे डाँडामा रहेको सामुदायिक भवनलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिसहित प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको टोलीले वार्ड स्थापना गरिने स्थलको अवलोकन समेत गरेको थियो । ‘अवलोकन पछि सो स्थान सुरक्षित देखिएकोले तत्कालै वार्ड सञ्चालनमा ल्याईने छ’, नगरिपालिकाका प्रमुख अमानसिं तामाङले भने ।

त्यस्तै बैठकले कोरोना भाईसरको बारेमा आवश्यक जनचेतना बृद्धि गर्न नगरपालिका, वडा कार्यालय मातहतका स्वास्थ्य संस्थाहरुबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सञ्चार माध्यममा प्रचारप्रसार गर्ने, स्वास्थ्य संस्थाहरुमा नगर बाहिर वा विदेशबाट आउने मानिसहरुको पहिचान गरी अभिलेख राख्न लगाउने निर्णय गरेको छ । त्यस्तै नगरभित्रको मठ, मन्दिर, चर्च, सञ्चाई केन्द्र, गूम्बाजसता धार्मिक स्थल र मानिस जमघट हुने स्थानहरुमा हुने कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।

स्थानीयलाई मास्कको प्रयोग गर्न लगाउने, नगर मातहत रहेका स्वास्थ्यकर्मीहरुलाई प्रसुति र क्रिया विदाबाहेक उन्य बिदा नदिने निर्णय समेत बैठकले गरेको छ ।