सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय चौतारास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको छ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रिता कुमारी बख्रेलले ब्यानर पढेर दुवै कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो। निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृतको जिम्मेवारी राजेश कुमार थापालाई दिइएको छ भने निर्वाचन क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश रिता कुमारी बख्रेलले नै सम्हाल्नुभएको छ।

कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै अब जिल्लामा निर्वाचनको औपचारिक माहोल बनेको सन्देश गएको बताउनुभयो। उहाँले निर्वाचन प्रक्रियामा सबै सरोकारवालाको सक्रिय सहभागिता, मतदाताको सहज पहुँच तथा कानुनको पूर्ण पालना सुनिश्चित गरिने उल्लेख गर्नुभयो।
जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी औपचारिक रूपमा अघि बढेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सबै तयारी अघि बढाइसकेको जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि शुक्रबार देशभरका सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। व्यवस्था अनुसार जिल्ला अदालतका मुख्य न्यायाधीशले मुख्य निर्वाचन अधिकृतको नेतृत्व गर्नेछन्। सोहीअनुसार देशभर ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ।
रेडियो सिन्धुबाट
प्रतिक्रिया दिनुहोस्