२०८२ फाल्गुन २५

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि भोताङदेवी माध्यमिक विद्यालय भोताङले उचालेको छ । भोताङदेवीले ६ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । यो उपाधि एतिहाँसिक र खुशीको क्षण भएको प्रधानाध्यापक सन्तोष अधिकारीले बातए । भोटेनाम्लाङ माध्यमिक विद्यालयले ४ स्वर्ण, ८ रजत र ४ कास्य सहित कुल १६ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने थाङपालभ्याली माध्यमिक विद्यालयले ४ स्वर्ण,२ रजत र ७ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको गाउँपालिका खेलकुद विकास समिति संयोजक ग्याल्बो साम्देनले जानकारी दिए । गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता थाङपालधाप माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । प्रतियोगिताको समापन गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा भएको थियो। ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी सभाध्यक्ष एवम वडा नं ५ का अध्यक्ष काले गोलेले विद्यालयस्तरीय खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । उनले खेलकुदलाई पाठ्यक्रमसँगै जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि सक्रिय हुन आग्रह गरे । समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय लक्ष्मण कुइकेल,वडा अध्यक्षहरु,अन्य जनप्रतिनिधि,स्थानीय अभिभावक,शिक्षक,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्