२०८१ जेष्ठ ८

जनताका गायक : रामेश

१७ वर्षको उमेरदेखि हाल पर्यन्तसम्म गीतमा आरोह अवरोह गर्दै एक किसिमले जीवनलाई संगीतमय बनाउँदै निरन्तर जनताकै कथा र व्यथाहरुको गीत गाउँदै आफूलाई गायकको रुपमा देखाइरहने एकजना प्रतिभावान् व्यक्तित्वको नाम हो रामेश अर्थात् रामेश्वर श्रेष्ठ । वि.सं. २००१ सालमा जागिरे बुबा कार्यालयको काममा पाल्पा तानसेनमा पुग्दा जन्म भएको रामेशको खास पुख्र्यौली घर ओखलढुंगा हो ।

सानैछँदादेखि नै घरको संगीतमय वातावरणमा हुर्केका यिनले बुबा, मुमा, दिदीहरुलगायत सबैजसो परिवारका सदस्यहरुबाट पाएको प्रेरणा र प्रोत्साहनले गीति यात्रामा सफलता प्राप्त गरेको देखिन्छ । घरमा बजाइने रत्नदास प्रकाश, मित्रसेन, मेलवादेवीका गीतका रेकर्डहरु सुनेर गीत संगीतको रसास्वादन गरेका रामेशले वि.सं. २०१८ सालमा सर्वप्रथम तेह्रथुममा छँदा स्टेजमा गीत गाएको देखिन्छ । यसैताका जनताका अर्का गायक रायनसँगको यिनको सम्पर्कले यिनको सक्रियता निकै चुलिँदै गएको पाइन्छ ।

२०१९ सालतिर नै रेडियो नेपालको आयोजनामा भएको प्रथम लोकगीत प्रतियोगितामा रायन र रामेशले भाग लिएको देखिन्छ । त्यसपछि २०२१ सालदेखि २०२४ सालसम्म नियमित रुपमा लोकलहरी हिमाली संगममा रायन, अरिमसँगै भएर यिनले गीत गाउन थाले । काठमाडौंको चिसो स्याँठमा स्यूँ स्यूँ काम्दै दु:खद क्षणहरु भोग्दै गीत संगीतका तरंगहरुमा जीवन घोल्दै बाँच्दै गरेको गाउँले इमान्दार युवक रामेशले पनि समूहमा बसेर केही गर्नुपर्ने अनुभूति सँगालेर साथीभाई मिलेर राल्फा समूहमा आफूलाई समाहित तुल्याएर जीवनक्रमहरु गुजारेका हुन् । लहरमा रहर चढेपछि अमूर्त संगीतमा जीवनका तरङ्गहरु घोलेर यसैताका यिनीहरुले विद्रोहका, असन्तोषका, सत्ताविरोधी हुँकारका गीतहरु गाएका देखिन्छन् । पछि समाजमा समूहसँग बढ्दै सिक्दै गर्दा विभिन्न विद्वान्हरुले यिनीहरुलाई दिएको प्रेरणा र सन्देशले मजदूर, श्रमिक र किसानका गीतहरु पो गाउनु पर्दोरहेछ भन्ने अनुभूति प्राप्त भएपछि नयाँ दिशा र नयाँ भावना बोकेर यिनले शोषित पीडित जनताकै पक्षमा लागेर गीतहरु गाएको देखिन्छ ।

वि.सं. २००१ असार ८ गते पिता कर्णबहादुर श्रेष्ठ र माता शिवलक्ष्मी श्रेष्ठको कोखबाट जन्मेका रामेश्वर श्रेष्ठले गायक रामेश भई गीत संगीतका क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेर देखाए । उनले गरेका सांगीतिक क्षेत्रका उल्लेखनीय कार्यहरुमा संकल्प गीति कार्यक्रममा निकै गीतहरु गाउनुका साथै स्वर्णीम स्कुलबाट उत्पादित केटाकेटीहरुको गीत भाग १, २ र ३ मा जीवनको जिम्मेवारी महिलासँग सम्बन्धित क्यासेटमा, जनताका गीतहरु भाग १ देखि ६ सम्मका एल्बम र पुस्तकहरुमा जीवन नामको पाँच किसिमको विशेषता भएको क्यासेट चक्का र पुस्तकमा, उज्यालो जीवनका भिडियो चक्काहरुमा संगीत दिएर, गाएर शब्द संयोजन गरेर, सम्पादन, व्यवस्थापन गरेर आफ्नो क्षमता र राम्रो बर्कत देखाइसकेका छन् । यतिमात्र नभई वि.सं. २०४७ सालमा राष्ट्रिय सभागृहको डबलीमा (मञ्चमा) अँध्यारोमा जूनकीरीको तेजिलो प्रकाश चम्काएर थुप्रै जनमानसमा प्रेरणाका गायक भई आफ्नो छवि देखाइसकेका छन् ।

करीब ७ वटा अविष्मरणीय टेलिफिल्महरुमा संगीत र गायन समेत गरिसकेका गायक रामेशले बहुचर्चित जनपक्षीय ठूलो पर्दाको फिल्म बलिदानमा गीत, संगीत, संवाद, घटना संयोजन, सल्लाह र निर्देशनसमेत दिएर निकै पसिना बगाई उक्त फिल्मलाई सफलताको चुलिमा पुर्‍याउने अभ्यासमा कष्टपूर्वक लागेको देखिन्छ । निरन्तर लागिरहने । स्वाभिमानलाई किनबेचको तराजुमा जोख्न नदिने । भावुकताका धनी । इमान्दार देशभक्त गायक रामेशले जनताका लागि निरन्तर गाइरहे । गाउन चाहनेहरुलाई प्रेरणा दिइरहे । देश, जनता र समाजका लागि समर्पित महापुरुषहरुको सम्मानमा यिनले आफ्नो भावनाका फूलहरु चढाइरहे । जनताका लेखक युद्धप्रसाद मिश्रप्रति समर्पित रहेर ‘रक्तक्रान्तिको ज्वालामुखी’ क्यासेट तयार गरेर निकै राम्रो जनपक्षीय संगीतका आयामहरु रेखांकन भर्ने कार्य पनि देखाइदिए । कहिले रेडियोमा, कहिले गाउँ गाउँमा, शहरका चोक चोकमा, कहिले राल्फाका समूह खोजेर, कहिले राजनीतिका शंखघोष फुक्नेहरुको राजनीति फुकेर, कहिले संकल्पमा मुठ्ठी कसेर, कहिले आस्थाको दह्रो इच्छा र उद्देश्य बोकेर निरन्तर गायन क्षेत्रमा लागिरहने एकजना इमान्दार जनताका गायक रामेशले साहित्यिक लेखनमा र साहित्यिक प्रकाशन र सम्पादनमा पनि आफ्नो क्षमता प्रदर्शन गरेको देखिन्छ ।

भविष्यको इच्छामा जनताको जुन माया र विश्वास हामीले प्राप्त गर्‍यौं त्यसलाई कायम गर्न सकौं भन्न रुचाउने गायक रामेशले संगीतले पनि विकृतिको विरुद्ध लड्दै स्वस्थ, सुन्दर र सार्थक जीवनका लागि सेवा गर्नुपर्छ भन्ने गर्छन् । २०२८ सालतिर जागीर छाडेपछि गाउँ गाउँ घुम्ने र गीतहरु सुनाउने क्रममा कम्युनिष्टहरुसँग संसर्ग र सम्पर्क बढेको महसुस गर्ने रामेशले २०२८ सालतिर पुन: काठमाडौं प्रवेश गरेपछि कम्युनिष्ट राजनीतिमा सहभागिता रहेको कुरा स्वीकार्दै संगीतका क्षेत्रमा भएका घटनाहरु सम्बन्धमा एक ठाउँमा यसरी चर्चा गरेको देखिन्छ –‘वि.सं. २०३९ सालसम्म त संगीतको माध्यमबाट संकल्प, झिसमिसे आदि पत्रपत्रिकाको माध्यमबाट झापा आन्दोलनलाई सघायौं । पढाइ, जागीर, बिहे केहीमा पनि वास्ता नगरी सक्रिय रह्यौं । २०३९ सालपछि राजनीतिक क्षेत्रबाट दवाव आउन थाले, आदेश आउन थाले । पार्टी अनुरुप चल्नुपर्छ भन्न थाले । हामीलाई यस्तो प्रवृत्ति मन परेन । हामीले थाहा नपाउने गरी अर्को समूह पनि गठन गरियो । त्यसलाई सक्रिय पारियो, यस्तो देख्दा हाम्रो हृदय रुन थाल्यो र पार्टीसँग हाम्रो सम्बन्ध टुट्यो । २०४० देखि २०४४ सालसम्म स्कुल कलेजमा कार्यक्रम दिन थाल्यौं । २०४४ साल आस्था परिवार गठन गर्‍यौं तर यसमा हामीले राजनीतिक पूर्वाग्रही भएर काम गरेनौं । पञ्चायतका, काँग्रेसका असल मान्छेलाई पनि समेट्यौं ।’

यस्तै सोच र अनुभवकै निचोड रामेशले २०४६ सालको जनआन्दोलनमा पनि गीत संगीतका छर्राहरुले निरंकुशताका विरुद्ध निशाना हान्न बाँकी राखेनन् । यसरी रामेशले साथीहरुसँग स्वरमा स्वर मिलाएर गलामा गला मिसाएर जन आन्दोलनकै लागि पनि सुन्दर ढंगको टेको र बल प्रदान गरेको पाइन्छ ।नेकपा एमालेको ९ महिने शासनकालमा रेडियो नेपालको संगीत सम्वद्र्धन समितिमा र सञ्चालक समितिमा रहेर नेपाली संगीत क्षेत्रमा देखिएका कमी कमजोरीलाई हटाएर राम्रा तथा व्यवस्थित ढंगको व्यवस्थापन गर्न सकिन्छ कि भनी अभ्यास गर्न खोज्ने रामेशले स्वस्थ समाज निर्माणकै लागि देशको सुन्दर भविष्यका लागि, जनताका कल्याण र मुक्तिका लागि गीत संगीतको प्रयोग गर्न निरन्तर साधनारत देखिन्छ । सरलताका धनी, प्रष्ट वक्ता, षड्यन्त्र र कपट नरुचाउने स्वभावका गायक रामेशले जनताका लागि, देशका भविष्यका लागि निर्भिक भएर जुनसुकै संकट र आपद विपद्मा पनि गायन क्षेत्रमा आफूलाई समर्पित तुल्याएको देखिन्छ । यस्तै किसिमका गायन क्षेत्रमा देखिएको निरन्तरता र जनताप्रतिको सदासयता समर्पणका लागि नै रामेशको व्यक्तित्व चुलिएको देखिन्छ । आफ्नो क्षेत्रबाट स्वाभिमानलाई पटक्कै गिर्न नदिएका, देश र जनताका विरुद्ध कुनै संकट र कष्टमा षडयन्त्र गर्न नजानेका, संगीत र गायन क्षेत्रमा निरन्तर पाँच दशकभन्दा बढी लागेर थाक्न नजानेका गायक यात्री रामेशले गीत र संगीतको महत्वबारे यसरी आफ्नो विचार व्यक्त गरेका छन् –‘गीत संगीत भन्ने कुरा कुनै पार्टी विशेषको हुँदैन । हामीले गाएका गीत जनताका हुन्, सबैका लागि गाएका छौं ।’ यस्तो खुला विचार पोख्ने रामेशले जनताकै मुक्तिका लागि साथीहरुसँग स्वरमा स्वर

मिलाएर यस्तो कर्णप्रिय गीत गाएका छन् :
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।

देशको मुहार फेर्न जुटेका यिनले अभावग्रस्त जीवन बाँचेर पनि, समस्याग्रस्त क्षणहरु गुजारेर पनि, तिरस्कार र हेलालाई मनमा साँचेर पनि जनता र देशलाई बिर्सेनन् । उनी आफ्नै कहरहरु, रहरहरुमा आफूलाई बाँधेर बाँचे ।संगीत, गायन र लेखन तीनवटै विधामा पोख्त रामेशले आफ्ना जीवनका अनुभूतिहरु, संगीत यात्राका वृत्तान्तहरु दु:खद र सुखद क्षणका उत्सर्गहरु ‘सम्झनाका पाइलाहरु’मा मञ्जुलसँग मिलेर पोखेका देखिन्छन् । यिनले आफ्नो जनता पक्षको यात्रालाई थाक्न दिएका छैनन् । आस्थामा आस्था साँचेर स्वर्णीम भविष्यका लागि स्वर्णिम हाइस्कुल, भुरुङखेलको विद्यालय संचालनमा संस्थापक भएर व्यवस्थापनमा विद्यालयकै निर्देशक रहेर विद्यालयका स–साना भाइबहिनीका संगीत शिक्षक भएर दिनचर्या बिताइरहेका रामेशका शुभयात्रा अनन्त अनन्त ढंगले बढिरहन सकोस् । यिनले उल्लेखयोग्य पाउनुपर्ने पुरस्कार र सम्मान नपाएता पनि जनस्तरबाट स्थापित युद्धप्रसाद मिश्र पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, स्टाएर्ड क्लब सम्मान, बलिदान चलचित्र सम्मान, जनसांस्कृतिक सम्मान, गोकुल स्मृति सम्मान, पारिजात कला सम्मान आदि प्राप्त गरेको देखिन्छ ।मोहन दुवाल /जनमत साहित्य

प्रतिक्रिया दिनुहोस्