चौतारा । मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ साधारण सभा तथा मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको ६औँ साधारण सभा संयुक्त रूपमा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ सानोसिरूवारीमा आयोजित उक्त कार्यक्रममा दुवै सहकारीका शेयर सदस्य, प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

साधारण सभाकै अवसरमा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री युवराज दुलालले दुवै सहकारीको कार्यालय सञ्चालन हुने गरी नवनिर्मित भवनको औपचारिक उद्घाटन गरेका छन् । सहकारी भवन निर्माणका लागि चौतारा साँगाचोकगढी नगरपालिकाबाट ३५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो ।
भवन रहेको जग्गा मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले खरिद गरेको हो । सो जग्गा करिब २० वर्षदेखि मैत्री साना किसान कृषक समूहले भाडामा प्रयोग गर्दै आएको थियो । पछि नगरपालिका र प्रदेश सरकारबाट बजेटको व्यवस्था सुनिश्चित भएपछि मैत्री साना किसान कृषक समूहकै पहलमा भवन निर्माण कार्य अघि बढाइएको जनाइएको छ । सहकारीका अनुसार भवन निर्माण कार्य सम्झौता अवधिभन्दा करिब तीन महिना अगावै सम्पन्न भइसकेको थियो, जसलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न भएको योजनाको उदाहरणका रूपमा लिइएको छ ।

नवनिर्मित भवनबाट अब मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेड दुवैको कार्यालय सञ्चालन हुने छ । साथै, दुवै सहकारी संस्था आगामी केही समयभित्र आपसी सहमतिमा मर्ज (एकीकरण) हुने प्रक्रियामा रहेको जानकारी पनि साधारण सभामार्फत मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रूपक धिताल र मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुब्बा प्रसाद दुलालले एकै साथ सार्वजनिक गरिएका थिए ।
हाल मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ७ सय ५६ जना शेयर सदस्य रहेका छन् भने मैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ७ सय ७० जना सदस्य आबद्ध छन्। मर्ज पश्चात् एकीकृत सहकारीको शेयर सदस्य संख्या करिब १४ सयको हाराहारी पुग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवराज दुलालले सहकारी क्षेत्रले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै भने,“सहकारी संस्थाहरू बचत र ऋणमा मात्र सीमित नभई उत्पादन, रोजगारी र आत्मनिर्भरता सिर्जनामा केन्द्रित हुनुपर्छ । दुई सहकारीको एकीकरणले संस्थागत क्षमता मजबुत बनाउनेछ र सदस्यहरूलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।”
उनले सहकारी र स्थानीय तथा प्रदेश सरकारबीचको सहकार्यले दिगो विकास सम्भव हुने विश्वाससमेत व्यक्त गरे । प्रदेश सभा सांसद दुलालले दुवै मैत्री सहकारीले संस्थाले समाजको आर्थिक अवस्थामा सुधार गर्न र सदस्यहरूको आर्थिक कारोबारलाई सहज र उपलब्धिमूलक बनाउन खेलको भुमिकाको प्रसंसा गर्दै देशका धेरै सहकारीहरू जोखिममा रहदै गर्दाको अवस्थमा यो सहकारी भने समाज र समुदायको भरोसा माझ बलियो आधार बनाई उभिन सक्नु उदाहरणीय रहेको बताए ।

साधारण सभाको अवसरमा उत्कृष्ट तथा सक्रिय शेयर सदस्यहरूलाई विभिन्न विधामा सम्मानसमेत गरिएको थियो। यस किसिमको सम्मान कार्यक्रमले शेयर सदस्यहरूलाई निरन्तर बचत गर्न, सहकारीप्रति थप विश्वास बढाउन तथा संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको सहकारीले जनाएको छ ।
साधारण सभामा आर्थिक प्रतिवेदन, वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र प्रस्तावित एकीकरणसम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्