मेलम्ची/ सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालन गरिएको मोतिबिन्दु शल्यक्रिया शिविरले ८४ जना दृष्टिविहीन तथा दृष्टि कमजोर भएका नागरिकको जीवनमा उज्यालो ल्याएको छ। आँखाको ज्योति फर्किएपछि सेवाग्राहीहरूमा खुशी र आत्मविश्वास देखिएको छ।
मेलम्ची नगरपालिका–११ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा पुस २३ र २४ गते दुई दिनसम्म शिविर सञ्चालन गरिएको हो। शिविरमा मेसिनमार्फत ३८ जना, हातबाट ४४ जना तथा मासु पलाएको आँखाका २ जना गरी जम्मा ८४ जनाको सफल शल्यक्रिया गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीकी प्रमुख कृतिका वैद्यले जानकारी दिनुभयो।
तिलगंगा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा. रबा थापाको नेतृत्वमा आएको चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेको हो। शल्यक्रियापछि आँखाले स्पष्ट देख्न थालेपछि सेवाग्राहीहरूले पुनः दैनिक जीवन सहज भएको अनुभूति गरेका छन्।
गत पुस १३ गतेदेखि पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएका आँखा जाँच शिविरमार्फत छनोट गरिएका बिरामीहरूको शल्यक्रिया यस शिविरमा गरिएको थियो।
तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्ची, तिलगंगा आँखा प्रतिष्ठान र भिजन हिमालय फाउण्डेशनको संयुक्त आयोजनामा तथा मेलम्ची नगरपालिकाको समन्वयमा सम्पन्न शिविरलाई स्थानीय स्तरमा प्रभावकारी स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्