साँगाचोक | जनविकास माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती) आज विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ ।
उद्घाटन समारोह बागमती प्रदेशका पूर्व सामाजिक तथा भौतिक पूर्वाधार मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाको विशेष उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा दुलालले जनविकास माध्यमिक विद्यालयले विगतदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे । उनले शिक्षा नै सामाजिक रूपान्तरणको आधार भएको भन्दै “शिक्षामा लगानी नगरी समग्र समाजको दिगो विकास सम्भव हुँदैन” भने । विद्यालयले दक्ष र जिम्मेवार जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार सुदृढीकरणका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । साथै, बदलिँदो समयअनुसार सीपमूलक र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयले शैक्षिक, सांस्कृतिक तथा स्मरणीय कार्यक्रमहरू आयोजना गर्दै आफ्नो इतिहास र उपलब्धिलाई स्मरण गरेको थियो । कार्यक्रममा विभिन्न शैक्षिक सरोकारवालाको सहभागिता रहेको थियो । सोही अवसरमा विद्यालयले प्रकाशित गरेको ‘पाथीभरा’ स्मारिका प्रमुख अतिथिबाट विमोचन गरिएको छ ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद आचार्यले विद्यालय स्थापनादेखि हालसम्मको यात्रा, उपलब्धि र चुनौतीबारे प्रकाश पारे । उनले सबै सरोकारवालाको सहकार्य र समुदायको साथले विद्यालय यो चरणसम्म आइपुगेको बताए ।
स्वर्ण जयन्ती समारोहले विद्यालयको शैक्षिक यात्रालाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा र समावेशी विकासतर्फ अग्रसर हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्