२०८२ फाल्गुन २६

कफीबाट रोजगारी र आम्दानीको आशा, सिन्धुपाल्चोकमा दुईदिने प्राङ्गारिक प्रविधि तालिम

सिन्धुपाल्चोक — जिल्लाका कफी उत्पादक किसानलाई लक्षित गर्दै प्राङ्गारिक कफी चक्र प्रविधिसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा तथा चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको तालिममा ३२ जना किसान सहभागी थिए ।

तालिममा प्राङ्गारिक प्रविधि अपनाएर गुणस्तरीय कफी उत्पादन वृद्धि गर्ने, माटोको उर्वराशक्ति संरक्षण गर्ने र किसानको आम्दानी बढाउने उपायबारे प्रशिक्षकहरूले जानकारी गराएका थिए ।


तालिमसँगै चौतारा साँगाचोकगढी नगरपालिकाले कफी उत्पादन तथा प्रशोधनलाई थप प्रभावकारी बनाउन १२ लाख रुपैयाँ लागतको कफी भुट्ने मेसिन किसानलाई हस्तान्तरण गरेको छ । उक्त मेसिनबाट स्थानीयस्तरमै कफी भुट्न सहज हुने र बजारमा उत्पादन पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मेसिन हस्तान्तरणपछि किसानहरू उत्साहित देखिएका छन् ।
तालिमका सहभागी दिनेश रायमाझीले तालिम सिपमूलक, उपलब्धिमूलक र उत्साहजनक रहेको बताए। उनका अनुसार तालिमबाट कफी खेतीको प्रारम्भिक ज्ञान, बिरुवा व्यवस्थापन, प्रशोधनदेखि बजार व्यवस्थापनसम्मको उपयोगी जानकारी प्राप्त भएको छ । कफीको माग बढ्दै गएको अवस्थामा आपूर्ति अझै पूर्ण रूपमा हुन नसक्दा कफी खेती कृषकका लागि भरपर्दो व्यवसाय बन्न सक्ने विश्वास उनले व्यक्त गरे ।

तालिम समापन समारोहमा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सहभागी किसानहरूलाई बधाई दिँदै व्यवसायिक कृषिमा सफलताको शुभकामना व्यक्त गरे । नगरपालिकाले प्रत्येक वर्ष कृषि क्षेत्रमा बजेट विनियोजन गर्दै आए पनि विभिन्न कारणले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै अब कफी खेतीले कृषि मात्र होइन, पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्