साँगाचोक/ चौतारा साङ्गाचोकगढी नगरपालिका–११ मा स्थानीय पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
एमालेका पूर्व वडा कमिटी अध्यक्ष लिला गिरी र कांग्रेसकी स्थानीय नेतृ गोपिनी माझी सहितका व्यक्तिहरू पार्टीको नीति, विचार र राजनीतिक दिशाप्रति विश्वास व्यक्त गर्दै नेकपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युवराज दुलाल (शरद) को उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दुलालले जनताको पक्षमा उभिने स्पष्ट राजनीतिक कार्यदिशाका कारण विभिन्न दलका नेता–कार्यकर्ता नेकपातर्फ आकर्षित भइरहेको बताए। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनसंघर्षलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपस्थित स्थानीय नेताहरूले नवप्रवेशीहरूलाई पार्टीको झण्डा र खादा ओढाएर स्वागत गरेका थिए। नवप्रवेशीहरूले वर्तमान राजनीतिक अवस्था, जनताको समस्या र परिवर्तनको आवश्यकता महसुस गर्दै नेकपाको नेतृत्वमा अघि बढ्ने निर्णय गरेको बताएका छन्।
कार्यक्रमको अन्त्यमा पार्टीले नवप्रवेशीहरूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको थियो।
प्रतिक्रिया दिनुहोस्