२०८२ माघ ९

प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माधव सापकोटा र क्षेत्र नं. २ बाट युवराज दुलाल एकल सिफारिस

सिन्धुपाल्चोक — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले दुवै निर्वाचन क्षेत्रमा युवा नेतृत्वलाई अघि सारेको छ। पार्टीले निर्वाचन क्षेत्र नं. १ र २ बाट क्रमशः माधव सापकोटा र युवराज दुलाललाई एकल रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट माधव सापकोटाको नाम एकल रूपमा सिफारिस भइसकेको छ । यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका सापकोटाले संसदमा जनताको आवाजलाई सशक्त रूपमा उठाउँदै आएका छन् । स्थानीय समस्या, विकास र जनजीविकासँग सम्बन्धित सवालहरूलाई निरन्तर राष्ट्रिय तहमा प्रस्तुत गर्ने उनको भूमिका रहदै आएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बसेको जिल्ला समन्वय समितिको उम्मेदवार सिफारिस बैठकले प्रत्यक्षतर्फ युवराज दुलाललाई सर्वसहमत रूपमा एकल सिफारिस गरेको छ । दुलाल हाल बागमती प्रदेशसभा सदस्यसमेत हुन् । सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।
प्रदेश सडक गुरुयोजना लगायत योजनाबद्ध विकासका नीतिहरूमा उनको सक्रिय भूमिकाका कारण उनी विकासप्रेमी र जनस्तरमा परिचित नेताका रूपमा चिनिन्छन्। जिल्लाको मात्र होइन, सिंगो प्रदेशको विकासमा उनको योगदानलाई पार्टीले सकारात्मक रूपमा मूल्यांकन गरेको छ । दुलालको उम्मेदवारी सिफारिससँगै सिन्धुपाल्चोकले दूरदर्शी सोच र योजनाबद्ध विकासको पक्षधर प्रतिनिधि पाउने अपेक्षा गरिएको छ ।
पार्टीका अनुसार दुलाल र सापकोटा दुवै युवा ऊर्जाशील र संगठनप्रति प्रतिबद्ध नेताहरू हुन् । उनीहरूलाई उम्मेदवारका रूपमा अघि सार्दा सिन्धुपाल्चोकको समग्र विकास, सुशासन र जनमुखी राजनीतिलाई थप बल पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्