सिन्धुपाल्चोक — नागरिकको आँखाको उज्यालो सुरक्षित राख्ने उद्देश्यसहित चौतारा साँगाचोकगढी नगरपालिकाले निःशुल्क आँखा जाँच तथा उपचार अभियान सुरु गरेको छ । मोतिविन्दुका कारण कसैले पनि अन्धोपन भोग्न नपरोस् भन्ने लक्ष्यका साथ सुरु गरिएको यो अभियानको शुभारम्भ सोमबार वडा नं. १ स्याउलेबाट गरिएको हो ।

शिविरको पहिलो दिनमै ८३ जना नगरवासीले आँखाको परीक्षण गराएका छन् । जसमध्ये ३६ जना पुरुष र ४७ जना महिला रहेका छन् । परीक्षणका क्रममा ६ जनामा मोतिविन्दु देखिएको स्वास्थ्य शाखाले जनाएको छ । तीमध्ये ३ महिला र ३ पुरुष छन् । साथै २४ जनालाई चश्मा आवश्यक पर्ने निष्कर्ष निकालिएको छ ।
नगरपालिकाले समस्या पहिचानमै सीमित नरही आवश्यक उपचारको व्यवस्था समेत मिलाएको छ । परीक्षणपछि चश्मा जाँच तथा वितरणको सेवा दिइँदा आर्थिक रूपमा कमजोर तथा दुर्गम बस्तीका नागरिकलाई प्रत्यक्ष राहत पुगेको छ ।नगर स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालका अनुसार, मोतिविन्दु पहिचान भएका सेवाग्राहीको चौतारामै शल्यक्रिया गरिनेछ । यसका लागि आगामी पुस २० र २१ गते विशेष शल्यक्रिया शिविर सञ्चालन गरिने उनले जानकारी दिए ।

नगरपालिकाले यस अभियानलाई चरणबद्ध रूपमा नगरका सबै १४ वटै वडामा विस्तार गर्ने तयारी गरेको छ । स्थानीय स्तरमै उपचार सेवा उपलब्ध हुदा नागरिकले समय, खर्च र झन्झटबाट मुक्ति पाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्