२०८२ पुष ४

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

चौतारा । अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा माध्यमिक तहका विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “श्रम आप्रवासनका चक्रमा सुशासन : सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने मूल नाराका साथ पौष ३ गते कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले श्रम आप्रवासनको वर्तमान अवस्था, अवसर, चुनौती, श्रमिकको अधिकार, सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका विषयमा विचार प्रस्तुत गरेका थिए । प्रतिस्पर्धात्मक कार्यक्रमबाट प्रथम कल्पन तामाङ, द्वितीय नेहारिका मास्के र तृतीय नम्रता श्रेष्ठ हुन सफल भएका छन् ।

कार्यक्रम सुरक्षित आप्रवासन कार्यक्रम (SaMi) को सहकार्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगिताले विद्यार्थीहरूमा वैदेशिक रोजगारीसम्बन्धी सचेतना बढाउन, सुरक्षित निर्णय लिन प्रेरित गर्न तथा आप्रवासनलाई सीप र मर्यादासँग जोड्न योगदान पुर्‍याउने आयोजकले बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस प्रत्येक वर्ष डिसेम्बर १८ तारिखमा मनाइन्छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले “सबै आप्रवासी श्रमिक तथा तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि” पारित गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । आप्रवासी श्रमिकहरूको योगदान, अधिकार र सुरक्षाबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस दिवसलाई विशेष महत्वका साथ मनाइँदै आएको छ ।

नेपालजस्तो श्रम आप्रवासनमा निर्भर देशका लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको महत्व झनै बढ्दो छ । यही सन्दर्भमा आयोजित वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीस्तरमै सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासनको सन्देश फैलाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्