सिन्धुपाल्चोक – हरि बहादुर दनुवार, युद्धले शरीरका अंग खोस्यो, आँखाको ज्योति कम गर्यो, तर आत्मसम्मान कहिल्यै हराएन। शसस्त्र जनयुद्धका क्रममा तीनपटक मृत्युको मुखबाट फर्किएका पाँचपोखरी थाङपाल गाउँपालिका–तिपेनीका पूर्व लडाकु दनुवारले देशका लागि लड्दा एउटा आँखा र देब्रे हातका तीन औँला गुमाए। शान्ति आयो तर उनको जीवनमा भने अशान्ति र अभावको बादल लागी नै रह्यो ।

‘कमरेड विशाल’ भनेर चिनिएका दनुवार शान्ति प्रक्रियापछि वर्षौँसम्म आफ्ना तीन बालबालिका र परिवारसहित घाम–पानी छेक्न नसक्ने टहरोमा बस्न बाध्य भए । वर्षातमा चुहिने छानो र जाडोमा काँपिने रातहरू उनका लागि युद्धको पीडाभन्दा कम थिएनन् । जनयुद्धमा योगदान दिएका धेरै पूर्व लडाकुजस्तै उनी पनि राज्यको नजरबाट ओझेल परे ।
तर, यो पीडा अन्ततः आशामा बद्लिएको छ । स्थानीय सहयोग, सामाजिक सहकार्य र पार्टी संरचनाको पहलले दनुवार परिवारका लागि सुरक्षित दुई कोठे घर बनेको छ। नेपाली कम्युनिष्ट पार्टी पाँचपोखरी थाङपाल गाउँपालिका समितिको अगुवाइमा सुरु गरिएको अभियानमा स्थानीयवासी र शुभेच्छुकहरूले खुलेर साथ दिए । जिन्सी सामग्रीतर्फ १ लाख ६७ हजार रुपैयाँ बराबरको सहयोग जुट्यो भने नगदतर्फ ३ लाख १५ हजार ६ सय ९० रुपैयाँ संकलन गरिएको गाउँपालिका समिति संयोजक दिल बहादुर वाईवाले जानकारी दिए ।

सोमबार प्रदेश सभा सदस्य युवराज दुलालले घरको उद्घाटन गर्दै हरि बहादुर दनुवारलाई चाबी हस्तान्तरण गरे । उनले शान्ति प्रक्रियामा बलिदान दिएका घाइते तथा अपांग पूर्व लडाकुको जीवन सहज बनाउनु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको बताए ।
तीनपटक मृत्यु जितेका दनुवारका लागि यो घर केवल इँटा र सिमेन्टको संरचना होइन । यो वर्षौँदेखिको पीडामाथि मलम हो, उनका बालबालिकाका लागि सुरक्षित भविष्यको सपना हो र बाँकी जीवन सम्मानका साथ बिताउने भरोसा हो। यो कथा एक व्यक्तिको मात्र होइन युद्धपछि पनि सुनिन नसकेका आवाज र अब बिस्तारै देखिन थालेको सामाजिक उत्तरदायित्वको कथा हो ।

प्रतिक्रिया दिनुहोस्