२०८२ पुष ४

पहिराेमा धर्ना बसेपछि तातोपानी नाका बन्द

सरकारी रवैयाकाे विराेध गर्दै भाेटेकाेसी वडा नम्बर २ का स्थानीय शनिबार बिहानैदेखि सडकमा धर्ना बसेपछि तातोपानी नाका बन्द भएको छ ।  इकाे पहिराेकाे सडकमा जम्मा भएका स्थानीयले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत बन्द गरेका छन्। इकाे पहिराेले पाँचसयभन्दा बढी सर्वसाधारणको वस्ती जाेखिममा छ ।

सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न समयमा दिएको ठेक्काले  पहिराे नियन्त्रण प्रभावकारी नभएको स्थानीयकाे गुनासाे छ ।”बर्खाभर गाउँ पहिराेमा बगिरहने, हिउँदमा सरकार कानमा तेल हालेर बस्ने । अनि जब बर्खा लाग्छ रकम पचाउन पहिरो खाेतल्ने परिपाटीले गाउँ नै जाेखिममा परेकाे छ, ” स्थानीय राजु घतानीले भने ।

वडावासी सबै जम्मा भएर पहिराेमा धर्ना बसेकाे र इकाे पहिराे नियन्त्रणका लागि तत्काल काम सुरु गर्न सडक डिभिजन र ठेकेदारलाई दबाव दिएको उनले बताए ।
इकाे पहिराे, काेप्लाङ र १० किलाे आसपास सडक बिग्रेको १० वर्ष बितिसकेको छ । तर, सरकारी निकायले कराेडाैँ खर्चेर पनि पहिराे नियन्त्रण गर्न सकेकाे छैन ।

सडक डिभिजन र ठेकेदारहरुलाई दिगाे काम गर्न दबाव हाेस् भनेर सडकमा धर्ना दिएको स्थानीय शेरबहादुर मगरले जानकारी दिए । याे नाकामा बर्सेनि अरबाैँ राजस्व उठ्छ । तर, जनताको बस्ती पहिराेमा बगेर सडक बन्द हुँदा सरकार जिम्मेवार बनेन, मगरले भने ।

बाह्रबिसे – लिपिङ सडक मर्मत तथा कालाेपत्रे गर्न एक अर्ब ३४ कराेडकाे ठेक्का लागिसकेको छ भने इकाे पहिराे नियन्त्रण गर्न ४८ कराेड ४९ लाख बजेट परेकाे बताइएको छ । तर, काम सुरु भएको छैन । बजेट परेर पनि हिउँदमा काम नगर्ने सराेकारवालालाई दबाव दिन स्थानीय धर्नामा बसेका हुन् ।

 

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्