२०८१ पुष २९
                           

मध्येभाेटेकाेसी हाइड्रोपावरलाई गम्भीर प्रश्न गर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले बुझायो ध्यानाकर्षणपत्र

भोटेकोशी जलविद्युत् आयोजनाको ढिलाइ: लागत १४अर्बबाट २२ अर्बमा पुग्यो, जिम्मेवार को?

२०६८ मा विद्युत खरिद सम्झाैता गरेर निर्माणाधीन १०२ मेगावाटकाे मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्धारित समयभन्दा निकै ढिलो भएकोले यसको लागत १४ अर्ब रुपैयाँबाट २२ अर्ब रुपैयाँसम्म पुगेको छ। यो आयोजनाको ढिलाइले स्थानीय समुदाय, लगानीकर्ता र देशकै ऊर्जाक्षेत्रमा ठूलो आर्थिक तथा सामाजिक प्रभाव परेको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आयोजनाको निर्माण समयमा सम्पन्न नहुनुका कारणबारे गम्भीर चासो व्यक्त गरेको छ। संघका अध्यक्ष बुद्धराज बस्नेतले शुक्रबार ध्यानाकर्षण पत्र बुझाउँदै सम्पूर्ण उद्योगी , व्यवसायी र सिन्धुपाल्चोक जनताको प्रतिनिधित्व गर्दै आयाेजनासमक्ष गम्भीर असन्तुष्टि पाेखेकाे हाे ।

आयोजनाको ढिलाइका मुख्य कारण आयोजना प्रवर्तक, प्राविधिक, परामर्शदाता ,ठेकेदार पक्षबीच समन्वयको अभाव, प्राविधिक र प्रशासनिक कमजोरी र राजनीतिक हस्तक्षेप भएको उल्लेख गरेकाे छ । पत्र बुझाउँदै अध्यक्ष बस्नेतले कुन पक्षकाे कमजोरीले आयाेजनाकाे निर्माण सम्पन्न हुँदा पनि विद्युत उत्पादन सुरु हुन नसकेकाे हाे भनेर प्रश्न गरेका छन् । “सुरुङबाट पानी चुहिनु र पटकपटक बनाउँदा पनि समस्या समाधान नहुनुले निर्माणकार्य कमजोर भएको स्पष्ट हुन आउँछ” उनले भनेका छन् ।

संघले प्रश्न गरेको छ: “किन निर्माण कार्य १३ वर्ष बित्दा पनि सम्पन्न हुन सकेन? यसले नेपालको ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पार्छ? यसको लागि जिम्मेवार पक्ष को हो?” करिब तीन अर्ब रुपैयाँ वार्षिक आम्दानी गर्ने लक्ष्य बाेकेकाे आयाेजना समयमा नबन्दा महिनाकाे ५० लाखभन्दा बढी ब्याज बेहाेर्नु परेकाे ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
निर्माण ढिलाइले आयोजनाको लागत ८ अर्ब रुपैयाँले बढाएको छ ।

जसले लगानीकर्तालाई थप आर्थिक भार परेको छ। यो भार उपभोक्ता र राष्ट्रलाई समेत असर गर्नेछ। साथै, आयोजनाबाट प्राप्त हुने ऊर्जा उत्पादनमा ढिलाइले देशको ऊर्जा आपूर्तिमा पनि असर गरेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले आयोजनाको ढिलाइलाई तत्काल अन्त्य गर्न र लागत वृद्धिको विषयमा जिम्मेवार निकायबाट स्पष्ट जवाफको माग गरेको छ।

साथै, संघले यस आयोजनासम्बन्धी समग्र अनियमिततामा छानबिन गरी दोषीहरूलाई कारबाही गर्न र परियोजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गरेको छ। देशका लागि महत्वपूर्ण मानिएको यो आयोजना अझै सम्पन्न नभएको र लागत लगातार बढ्दै गइरहेको अवस्थाले गम्भीर प्रश्न उठाएको छ।

यस्तो अवस्थामा, स्थानीय, प्राविधिक र सरकारी निकायहरूको सहकार्यबाट समस्या समाधान गर्दै आयोजनालाई दिगो बनाउन आवश्यक छ। ध्यानाकर्षण पत्र बुझ्दै आयोजना प्रमुख सन्दीप जाेशी र सिइयाे रामगोपाल शिवाकोटीले सुरुङमा देखिएको समस्या समाधान गरेर छिटोभन्दा छिटो विद्युत उत्पादन सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्