२०८२ मंसिर ३

अमेरिकी राजदूत थम्प्सनद्वारा हेलम्बुमा डेन्टल अस्पताल भवन शीलान्यास

अमेरिकाकाे आर्थिक सहयोगमा हेलम्बु गाउँपालिकामा डेन्टल अस्पताल बन्न लागेकाे छ । नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले हेलम्बु पुगेर मंगलबार अस्पताल भवनको शीलान्यास गरेका हुन् ।

राजदूत थम्पसनसँगै हेलम्बु पुगेका बुद्ध धर्मगुरु मिङ्ग्युर रिम्पाेछेले पनि भवन शीलान्यास कार्यक्रमलाई बुद्धिष्ट मन्त्र जप गरेर साथ दिएका थिए । राजदूतसँगै धुलिखेल अस्पतालका वरिष्ठ चिकित्सक डा. राम श्रेष्ठ  हेलम्बु गएका थिए । अस्पताललाई आवश्यक उपकरण र चिकित्सक सहयोग गर्ने श्रेष्ठले वचन दिए । नेपाल बसाइँकाे क्रममा हिमाली भेग हेलम्बु पुग्न पाउँदा थम्पसनले खुसी व्यक्त गरे ।

हेलम्बु गाउँपालिका– ६ इचाेकमा उक्त अस्पताल एक वर्षभित्र बन्ने छ । अमेरिकी आर्थिक सहयोग  हेलम्बु स्वास्थ्य प्रतिष्ठानमा प्राप्त हुनसाथ निर्माण अगाडि बढ्ने बताइएको छ । निर्माण र अस्पताल सञ्चालन साेही प्रतिष्ठानले गर्नेछ ।

पालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको अनुराेधमा राजदूतले आर्थिक सहायता उपलब्ध गराउन लागेका हुन् । अस्पताल भवनसँगै आवश्यक उपकरण र चिकित्सक  व्यवस्थापन अमेरिकी सहायतामा प्राप्त हुने शेर्पाले सुनाए ।

स्वास्थ्य क्षेत्रमा नवजात शिशु, सुत्केरी, वृद्धवृद्धा र दीर्घ राेगीलाई निःशुल्क उपचार र औषधि दिँदै आएको हेलम्बुले दन्त अस्पताल खाेलेर स्थानीयलाई थप सेवा प्रदान गर्न लागेको हाे ।

राजदूत थम्पसन र रिम्पाेछेले वागमती प्रदेशमा महत्वाकांक्षी याेजनाकाे रुपमा निर्माणाधीन हेलम्बु ग्रेट ट्रेलकाे स्थलगत भ्रमण गरेर सुन्दर हिमालकाे दृश्यावलाेकन गरे । रिम्पाेछे मिङ्ग्युरले इचाेकमा रहेकाे प्रभाचेत गुम्बामा जम्मा भएका स्थानीयलाई बुद्ध धर्मकाे ज्ञान दिएर पूजापाठसमेत गरेका थिए ।

 

नयाँ पत्रिका बाट

प्रतिक्रिया दिनुहोस्