२०८२ कार्तिक २७

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा सम्पन्न

चौतारा । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित उक्त कार्यक्रममा जिल्लाका सबै स्थानीय तहले आफ्नो–आफ्नो क्षेत्रका उपलब्धि, नवीनतम पहल, समस्या र सिकाइका विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा उत्कृष्ट काम गरेका पालिकामध्ये पाँचपोखरी थाङपाल गाउँपालिका पहिलो, चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाउँपालिका दोस्रो तथा त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएको जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईको भनाई छ ।

समीक्षात्मक कार्यक्रममा हेलम्बु गाउँपालिकाले जिरो होम डेलिभरी तथा नसर्ने रोग रोकथाम कार्यक्रम, सुनकोशी गाउँपालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धा तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली, त्रिपुरा सुन्दरी गाउँपालिकाले महामारी रोग नियन्त्रण कार्यक्रम, मेलम्ची नगरपालिकाले न्यूनतम सेवा मापदण्ड, र बाह्रबिसे नगरपालिकाले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी उत्कृष्ट कार्य गरेको पाईएको छ ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाले सुरक्षित मातृत्व कार्यक्रम र समुदायस्तर विशेषज्ञ आँखा स्वास्थ्य सेवा, जुगल गाउँपालिकाले क्षयरोग कार्यक्रम, पाँचपोखरी थाङपाल गाउँपालिकाले स्वास्थ्य फोहोरमैला व्यवस्थापन, भोटेकोशी गाउँपालिकाले पोषण कार्यक्रम, इन्द्रावती गाउँपालिकाले सुरक्षित मातृत्व, बलेफी गाउँपालिकाले समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन, र लिसंखुपाखर गाउँपालिकाले परिवार योजना कार्यक्रम तर्फ उत्कृष्ट भएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, र विषय विज्ञ अनिल थापा लगायतका सरोकारवालाको उपस्थिती थियो। समीक्षा कार्यक्रममा प्रस्तुत भएका उत्कृष्ट अभ्यास र सिकाइका बुँदाहरूलाई आगामी वर्षका योजना तथा नीति निर्माणमा समेत समेटिने जनाइएको छ।

 

रेडियो सिन्धुबाट

प्रतिक्रिया दिनुहोस्