२०८२ कार्तिक २२

मनोसामाजिक परामर्श

मानिस सामाजिक प्राणी हो । समाजभित्र समुदाय र समुदायभित्र परिवार हुन्छ । परिवारमा रहँदा परिवारका सदस्यहरूबीच सामान्य तथा असामान्य व्यवहार हुन सक्छ । अहिलेको प्रतिस्पर्धात्मक परिवेशमा हाम्रा चाहना तथा इच्छाहरू अपूरा वा अधूरा हुन सक्छन् । यही विभिन्न कारणहरूले हाम्रो मानसिक अवस्थामा बेचैनी, चिन्ता, तनाव तथा अन्य प्रकारका विचलनहरू उत्पन्न हुने गर्छन् ।

त्यसैगरी, विभिन्न तहका व्यक्तिहरू सामाजिक रूपमा अपहेलित हुँदा, प्राकृतिक प्रकोप, आर्थिक क्षति, असफलता, पारिवारिक सदस्यको विछोड, दीर्घरोग, आन्दोलन, हिंसा आदिका कारण पनि मानसिक पक्षमा विचलनहरू देखा पर्न सक्छन् । यस्तो अवस्थामा व्यक्तिको भावना, डर, आक्रोश र निराशा बुझ्न तथा परिवार र समाजसँग सम्बन्ध पुनःस्थापित गर्न मनोसामाजिक परामर्शले सहयोग पुर्‍याउँछ ।

मनोसामाजिक परामर्श एक मनोवैज्ञानिक उपचार हो । यो मानिसको मनोवैज्ञानिक (आन्तरिक) र सामाजिक (बाह्य) पक्षबीचको सम्बन्धलाई बुझ्ने र सहयोग गर्ने प्रक्रिया हो । यो सहानुभूति देखाउने अभ्यास मात्र होइन, वैज्ञानिक रूपमा प्रमाणित सहयोग हो । यो मानसिक बिरामीका लागि मात्र नभई समस्यामा परेका हरेक व्यक्तिका लागि उपयोगी मनोवैज्ञानिक उपचार हो ।

यसले व्यक्तिभित्र रहेको आन्तरिक क्षमतालाई उजागर गरी सकभर उसैबाट समस्या समाधान गर्ने प्रयास गर्छ । यो मानवतावादी मनोवैज्ञानिक उपचार हो । अहिलेको जटिल हुँदै गएको सामाजिक परिवेशमा मनोसामाजिक परामर्शको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्