२०८२ कार्तिक ३

१५० औं पटक रक्तदान गर्ने वीरेन्द्रकुमार जोशीलाई ब्लोदानद्वारा सम्मान

काठमाडौं — ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) का आजीवन सदस्य तथा शतक रक्तदाता वीरेन्द्रकुमार जोशीले आफ्नो १५० औं पटकको रक्तदान गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

उनले हिजो २०८२ कार्तिक १ गते शनिबारका दिन काठमाडौंको बसन्तपुरस्थित महादेव पार्वती डबलीमा आयोजित रक्तदान कार्यक्रममा आफ्नो १५० औं पटकको रक्तदान गरेका हुन । उक्त कार्यक्रम समाज येँ पुचःको आयोजनामा, बिनि इन्टरनेशनल प्रा. लि. र ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रको सहआयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

सो अवसरमा जोशीसहित ३७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए । ब्लोदानका केन्द्रीय कार्यसमिति र काठमाडौं मध्य क्षेत्रका प्रतिनिधिहरूले उनको दीर्घकालीन रक्तदान सेवाप्रति कृतज्ञता व्यक्त गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।

नियमित रक्तदानमार्फत बिरामीहरूको जीवन बचाउन योगदान दिँदै आएका जोशीको यो समर्पणले नयाँ पुस्ताका युवा रक्तदाताहरूलाई प्रेरणा मिल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।

ब्लोदानले उनको निरन्तर सेवाभावको उच्च प्रशंसा गर्दै भविष्यमा पनि रक्तदान अभियानमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्