२०८३ असार ११

सीप सिकेर आम्दानीको बाटो खोज्दै स्याउले

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ को आयोजनामा लक्षित वर्गका लागि सञ्चालन गरिएको १५ दिने बुके तथा कृत्रिम फूल बनाउने तालिम सम्पन्न भएको छ।
वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा विभिन्न समुदायका १५ जना सहभागी भएका थिए। तालिममार्फत सहभागीहरूले बुके तथा कृत्रिम फूल निर्माणसम्बन्धी सीप हासिल गरेका छन्। तालिमको समापन कार्यक्रममा सहभागीहरूले सिकेको सीपलाई आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
समापन कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष रामशरण अधिकारीले सीपमूलक तालिमले स्थानीय नागरिकलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार तथा साना उद्यम सञ्चालनतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गरे। वडा कार्यालयले आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार यस्ता सीप विकासका कार्यक्रम सञ्चालन गर्दै जाने उनले बताए।


त्यसैगरी वडा सदस्य खेलकुमारी कार्कीले महिलासहित लक्षित वर्गको आर्थिक सशक्तीकरणका लागि यस्ता तालिम महत्वपूर्ण हुने बताइन्। उनले तालिममा सिकेका सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सके परिवारको आयआर्जन वृद्धि गर्न मद्दत पुग्ने उल्लेख गरिन्। साथै, तालिमबाट प्राप्त सीपलाई निरन्तर अभ्यास गर्दै उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो।
तालिमको अन्तिम दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार स्थानीय स्तरमा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्