सिन्धुपाल्चोक । बैदिक संस्कार र पुरातन परम्पराको सुन्दर निरन्तरतासहित यस वर्ष पनि सिन्धुपाल्चोकको ऐतिहासिक चौतारामा फुलपाती पुजा सम्पन्न गरिएको छ । धार्मिक आस्था, सैन्य परम्परा र सामाजिक संस्कृतिको संगमस्थलका रूपमा परिचित चौतारामा फुलपाती भित्र्याउने प्रथालाई इतिहासकै एउटा विशिष्ट अध्याय मानिन्छ ।
इतिहासमा नजर पुर्याउँदा, चौताराको टुडिखेल शाही नेपाली सेनाको अभ्यासस्थल रहेको पाईन्छ । त्यही टुडिखेलमा स्थापित निशान भगवतीको थानमा पण्डित दिनानाथ अधिकारीद्वारा दशैँको फुलपातीमा विशेष पूजा गरिने परम्परा थियो । तर वि.सं. २०२२ मा भगवतीको मूर्ति रामेछाप सारिएपछि यो परम्परा करिब तीन दशकसम्म बन्द हुन पुग्यो ।

वि.सं. २०५१ मा तत्कालीन जिल्ला प्रहरी प्रमुख चौतारामा आएपछि फुलपाती पुजा पुनः सुरु भएको भनाइ छ । पण्डित दिनानाथ अधिकारीका नाति बाबुराम अधिकारीको पहल र प्रहरी प्रशासनको सक्रियतामा यो परम्परा पुनर्जीवित भयो । त्यसयता निरन्तरता पाइरहेको यो परम्पराले चौताराको सांस्कृतिक परिचयलाई अझ सबल बनाएको छ ।

विगतमा शाही प्रशासनका बडा हाकिम र कप्तान प्रमुख भूमिकामा रहने परम्परा अहिले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नेपाली सेनाका गण कर्णेलले संयुक्त रूपमा पुजा सञ्चालन गर्ने प्रचलनमा परिणत भएको छ । त्यस्तै, पहिले भेडा बली दिने चलन रहे पनि हाल स्थानीय सुझावअनुसार पशुबली प्रथा रोकिएको छ । यसको विकल्पमा पाँच थरी बली दिने परम्परा सुरु गरिएको छ, जसलाई पञ्चबली भनिन्छ यसमा कुविन्डो, उखु, मुला, घिरौला र नरिवल अर्पण गर्ने गरिन्छ ।

वि.सं. २०७१ पछि यस परम्परालाई औपचारिकरूपमै निरन्तरता दिइएको छ । आज फुलपाती पुजा केवल धार्मिक अनुष्ठान मात्र नभई चौताराको सांस्कृतिक, सामाजिक र प्रशासनिक मिलनबिन्दुका रूपमा स्थापित भएको छ । स्थानीयवासीहरूले यसलाई आफ्नो गौरव र पहिचानसँग जोडेर आत्मीयतापूर्वक आत्मसात गर्दै आएका छन् ।
यसरी, चौताराको फुलपाती पुजा केवल विधिपूर्वक सम्पन्न गरिने धार्मिक कर्मकाण्ड मात्र होइन, इतिहास, संस्कृति र सामुदायिक एकतालाई जोड्ने अमूल्य कडीका रूपमा अझै पनि जीवित र सबल छ ।
प्रतिक्रिया दिनुहोस्