२०८२ कार्तिक २

सिन्धुपाल्चोकमा पहिरोले दुई बालिका बेपत्ता

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलवीरको बलेफीढाडे नजिकैको सडक खण्डमा पहिरो जाँदा दुई बालिका बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय जलवीरका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतका अनुसार बुधबार दिउँसो करिब ४:४५ बजे सडक माथिबाट खसेको लेदोमाटोसहितको पहिरोमा परेर १७ वर्षीया फुलमाया लामा र उनकी ५ वर्षीया बहिनी मनमाया लामा बेपत्ता भएका हुन् ।

बेपत्ता दुवै बालिका चौतारा साँगाचोकगढी नगरपालिका–२  फुलपिङड बस्ने भए पनि हाल जुगल गाउँपालिका–२ गोल्चेस्थित मामाघर जाँदै गरेको समयमा दुर्घटनामा परेका प्रहरीको भनाइ छ ।

प्रहरीले प्रारम्भिक अनुमान अनुसार पहिरोमा परेका उनीहरू ब्रह्मायणी खोला हुँदै तल बगाएको हुन सक्ने भन्दै खोजी कार्य सुरु गरेको जनाएको छ ।

घटनापछि प्रहरी निरीक्षक रावतको कमाण्डमा १० जनाको टोली खटिए पनि हालसम्म बालिकाहरूको अवस्थाबारे जानकारी पाउन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्