काठमाडौँ । प्रेस काउन्सिल नेपालले सोमबार आफ्नो ५६औँ वार्षिकोत्सव साधारण तरिकाले सम्पन्न गरेको छ । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्ष भव्य कार्यक्रम स्थगन गरी सीमित औपचारिकतासहित वार्षिकोत्सव मनाइएको हो ।
काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा काउन्सिलको ५०औँ वार्षिक प्रतिवेदन र मिडिया जर्नल नामक अङ्ग्रेजी प्रकाशन सार्वजनिक गरिएको थियो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले यसअवसरमा जेन्जी आन्दोलनको प्रभाव, पत्रकारमाथि भएका आक्रमण तथा सञ्चार माध्यममा देखिएका चुनौतीहरूको विशेष अध्ययन–अनुगमन गर्ने योजना अघि सारे । साथै, काउन्सिललाई डिजिटल स्वरूपमा रुपान्तरण गर्ने, ऐन–नियम तथा आचारसंहिता संशोधन गर्ने र संघीय संरचनाअनुरूप स्थानीय तहसम्म अध्ययन–अनुगमन बढाउने कार्यभार रहेको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले काउन्सिल कुनै पनि राजनीतिक परिवर्तनबाट विचलित नभई आफ्ना लक्ष्यमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे । उनले आचारसंहिताको कार्यान्वयनमा काउन्सिल सफल हुँदै गएको र मर्यादित तथा इथिकल पत्रकारिताकै माध्यमलाई मूलधार मानिने धारणा राखे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले तथ्यहीन सामग्रीका कारण सञ्चार माध्यमले क्षति बेहोर्नु परेको बताउँदै काउन्सिलको भूमिका जवाफदेहिता सुनिश्चिततर्फ बढेको उल्लेख गरे । त्यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले काउन्सिलको महत्व अझ बढेको धारणा राखे भने मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले प्रादेशिक संरचनालाई सहयोगी निकायका रूपमा स्वीकार गर्न आग्रह गरे । नेपाल बार काउन्सिलका उपाध्यक्ष तेजबहादुर रावलले आवश्यक ऐन–नियम संशोधनमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कर्मचारी सङ्घका अध्यक्ष रहमतुल्ला मियाँले कम जनशक्ति हुँदाहुँदै पनि काउन्सिल प्रभावकारी बनेको बताए । कार्यक्रममा काउन्सिल सदस्यहरू, नेपाल पत्रकार महासङ्घका पदाधिकारी, कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्