२०८२ आश्विन ३

भोटेकोसीमा सेयर विवाद चर्कियो, आक्रोशित स्थानीयद्वारा गाउँपालिका कार्यालयमा तोडफोड

सिन्धुपाल्चोक । माथिल्लो भोटेकोसी पावर कम्पनी हाइड्रोपावरले दिनुपर्ने भनिएको सेयरप्रति लामो समयदेखि बेवास्ता हुँदा सिन्धुपाल्चोकको भोटेकोसीमा विवाद चर्किएको छ । ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसीले दुई दशकअघि  विद्युत उत्पादन सुरु गरे पनि स्थानीयलाई वाचा गरिएअनुसारको सेयर नपाएपछि असन्तोष उर्लिएको हो ।

आक्रोश चर्किँदै जाँदा आन्दोलनरत स्थानीयले भोटेकोसी गाउँपालिका कार्यालयमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । घटनाक्रमबीच धकेलाधकेल हुँदा दुई जना सामान्य घाइते भएको बताइएको छ । यसैबीच, बैठकमा सहभागी जनप्रतिनिधि र हाइड्रोपावरका प्रतिनिधि स्थानीयको रोषबाट बच्न कार्यालय छोडेर भाग्नुपरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

स्थानीयले करिब १० दिनदेखि पावरहाउस बन्द गर्दै आन्दोलन गर्दै आएका छन् । आन्दोलनरत समुदायसँग कुनै संवाद नगरी कम्पनीले जनप्रतिनिधिसँग मात्र बैठक गरेको थाहा पाएपछि स्थानीय आक्रोशित बनेका थिए । सेयर वितरणको मागलाई बेवास्ता गरिएको भन्दै उनीहरूले पालिका भवनमै जम्मा भई विरोध प्रदर्शन गरेका हुन् ।

यो आन्दोलनले एकातिर स्थानीयको दशकौँदेखिको पीडा र वाचा–अपूरा आशाहरूलाई उजागर गरेको छ भने अर्कोतर्फ विकासका नाममा भएका सम्झौता–प्रतिज्ञा पूरा नभए समुदाय कति आक्रोशित हुन सक्छन् भन्ने कडुवा यथार्थ पनि प्रष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्