चौतारा | सिन्धुपाल्चोकको चौतारामा बौद्धिक अपाङ्गता अभिभावक संघले ‘कोशेली घर’ सञ्चालनमा ल्याएको छ । स्थानीय उत्पादन प्रवर्द्धन र अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकलाई आत्मनिर्भर बनाउन उद्देश्यसहित सञ्चालनमा आएको कोशेली घरमा विभिन्न हस्तकलादेखि कृषि उत्पादनसम्म बिक्रीका लागि राखिएका छन् ।
कोशेली घरमा अपाङ्गता भएका व्यक्तिहरुको परिवारले उत्पादन गरेका हातले बुनेका ब्याग, पूजाका लागि प्रयोग हुने दुना–टपरी, धूपबत्ती, कुशन, डल, कुचो, घ्यु, अर्गानिक अचार, टिमुर, तोरिको तेल, आलुको चिप्स, वेसारलगायतका स्थानीय सामग्री उपभोक्ताले एकै ठाउँमा सहजै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
सङ्घकी अध्यक्ष जानुका श्रेष्ठका अनुसार, कोशेली घर सञ्चालनमा आएपछि अपाङ्गता भएका व्यक्तिहरुको परिवारलाई आफ्ना उत्पादन सहजै बजारमा पुर्याउन मद्दत भएको छ । यसले परिवारहरूलाई आयआर्जनमा सहयोग गर्ने र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने बताइएको छ ।
अध्यक्ष श्रेष्ठले भनिन्, “यस कोशेली घरमार्फत् अपाङ्ग व्यक्तिहरूका अभिभावकलाई आर्थिक टेवा पुग्नेछ । उनीहरूको सीप बजारमा पुर्याउने र आत्मनिर्भर बनाउन सहयोग गर्नु नै हाम्रो मुख्य उद्देश्य हो ।”
सिन्धुपाल्चोकको चौतारामा खुलेको यो ‘कोशेली घर’ले अब अपाङ्गता भएका व्यक्तिहरुको परिवारलाई मात्रै होइन, स्थानीय उत्पादनलाई समेत बजारसँग जोड्ने एउटा महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्