सिन्धुपाल्चोक । टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको फाइलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गंगा सोनाम लाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताहरूले जिल्लावासीलाई अपिल गरेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१० बडहरे निवासी गंगा सोनाम नेपाल आइडलको विभिन्न चरण पार गर्दै टफ फाइभ अर्थात् फाइनलमा प्रवेश गरेकी छन् । गंगालाई भोट मार्फत नेपाल आइडलको विजेता बनाउन आग्रह गरेका हुन् ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा-१ का सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल लगायतका नेताहरूले गंगालाई भोट मार्फत जिताउन अपिल गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले गंगालाई जिताउनका लागि ५० हजार रुपियाँ बराबरको भोट गरेका छन् । त्यस्तै सांसद माधव सापकोटा लगायत सबै नेताहरूले भोट सहित सहयोगका लागि अनुरोध पनि गरेका हुन् ।
इन्द्रावती-१० बडहरेकी दलित समुदायमा जन्मेर गंगाले टेलिभिजन रियालिटी शोमा उत्कृष्ट प्रदर्शन गरेकीले उनलाई सबैले भोट गरेर जिताउन एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अनुरोध गरेका छन् ।
एपी वान टेलिभिजनबाट प्रत्येक साताको शुक्रवार र शनिवार नेपाल आइडल प्रसारण हुँदै आएको थियो । भदौ १५ गते ग्रान्ड फिनाले हुँदैछ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल र गंगाको एउटै वडा हो ।
गंगालाई जिताउनका लागि गाउँपालिकाले समेत सहयोग गर्न लागेको इन्द्रावती गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए । भदौ १३ गते कार्यपालिकाको बैठक छ, त्यहीबाट गंगालाई सहयोग गर्नै निर्णय गरिने प्रवक्ता आचार्यले बताए ।
नेपाल प्रेस
प्रतिक्रिया दिनुहोस्