२०८२ कार्तिक २

मेलम्चीका चार वडाको संयुक्त ध्यानाकर्षण, एमसिए नेपालसँग प्रसारण लाइनको असरबारे छलफल

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा नं. १, २, ३ र ४ का अध्यक्षहरूले संयुक्तरूपमा विद्युत प्रसारण आयोजनाबाट स्थानीयमा पर्न सक्ने प्रभावबारे गम्भीर चासो व्यक्त गर्दै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए नेपाल) का कार्यकारी निर्देशकसँग आज भेटवार्ता गरेका छन्। उनीहरूले आयोजनाको कारण प्रत्यक्ष प्रभावित हुने समुदायको हक, हित र क्षतिपूर्तिको सुनिश्चितताका लागि ध्यानाकर्षण गराउँदै लिखित निवेदन समेत हस्तान्तरण गरेका छन्।

छलफलका क्रममा अध्यक्षहरूले हाल ४६ मिटर चौडाइको क्षेत्रलाई मात्र प्रभावित क्षेत्र मानेर अघि बढाइएको प्रक्रियाले नजिकका बस्ती, विद्यालय तथा संरचनाहरूलाई बेवास्ता गरेको भन्दै यस मापदण्डलाई पुनः समीक्षा गरी विस्तार गर्नुपर्ने माग गरेका छन्। साथै प्रसारण लाइनको तारमुनि पर्ने जग्गालाई पनि क्षतिपूर्तिको दायरामा ल्याउनुपर्ने, र आयोजनाबाट प्रत्यक्ष असर पर्ने नागरिकलाई उपयुक्त मुआब्जा दिनुपर्ने विषयमा जोड दिएका छन्।

अध्यक्षहरूले आयोजनासँगै स्थानीय पूर्वाधार विकासमा पनि जोड दिँदै विशेषगरी सडक सञ्जालको सुधार तथा कृषि कोल्ड स्टोर निर्माणमा प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै, मेलम्चीका ती चार वडामा बसोबास गर्ने स्थानीयवासीलाई रोजगारीको अवसर र आयआर्जनको स्रोत सुनिश्चित गर्नुपर्ने मागसमेत राखिएको थियो। विद्युत समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले ‘उज्यालो कार्यक्रम’ अन्तर्गत वडा नं. १ देखि ४ सम्मका क्षेत्रमा सडक बत्ती जडान गर्नुपर्ने विषयमा पनि अध्यक्षहरूले जोड दिएका थिए।

विकास निर्माणसँग सम्बन्धित अन्य विविध विषयहरूमा समेत छलफल भएको थियो। भेटवार्ता सकारात्मक भएको जनाउँदै वडा नं. १ का अध्यक्ष कृष्णमुरारी चौलागाईंले समग्र विषयमा समझदारी विकसित हुँदै गएको जानकारी दिए। छलफलमा चारवटै वडाका अध्यक्षहरूको संयुक्त उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्