२०८१ श्रावण १२
                           

बागमती प्रदेशमा युवा सम्मेलनको तयारी अन्तिम चरणमा

बैशाख २५, बागमती प्रदेशमा युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । युवा सम्मेलनको सबैजसो तयारी पुरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्य सहित हेटौँडामा आयोजना हुने प्रदेश युवा सम्मेलनको तयारी अन्तिम चरणमा छ । बागमती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो ।
यही वैशाख २८, २९ र ३० गते प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुनेछ ।

सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता हुनेछ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत प्रदेश युवा सम्मेलन गर्न लागिएको हो । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइने छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइने छ ।

सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिने छ । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले युवाको वृहत् हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआई, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उहाँको भनाइ छ । युवा सम्मेलन पश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्