चौतारा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), जिल्ला समिति, सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी गाउँपालिका–५, मा भएको ११ वर्षीय बालिकको सामूहिक बलात्कार पछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा विरोध जनाएको छ।
विज्ञप्तिमा घटनालाई “हृदयविदारक, पाशविक र अमानवीय” भन्दै दोषीहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ। साथै, घटनाको निष्पक्ष अनुसन्धान, पीडित पक्षलाई न्याय, तथा पीडित बालबालिकाको सुरक्षाका लागि विशेष ध्यान दिन सरकार तथा सुरक्षा निकायहरूलाई आग्रह गरिएको छ।
अखिल (क्रान्तिकारी) को विज्ञप्तिमा दोषीहरूलाई कानुनी दायराबाट उम्कन नदिने प्रतिबद्धता जनाउँदै जनताको दबाब र चेतनशील विद्यार्थी शक्ति एकजुट भएर न्यायको पक्षमा आवाज उठाउने चेतावनी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “दोषीहरूलाई कानुनी कठघरामा उभ्याइएन भने आन्दोलनमा जान बाध्य हुनेछौं।” साथै, घटनाप्रति समस्त विद्यार्थी समुदाय, शिक्षण संस्था, अधिकारकर्मी, मानवअधिकारवादी, र समाजका सचेत वर्गलाई आवाज उठाउन पनि आह्वान गरिएको छ।
घटना पुनः नदोहरियोस् भन्नका लागि दोषीको पहिचान, पक्राउ र दण्डसहितको न्यायिक प्रक्रिया तुरुन्तै सुरु गर्न माग गर्दै विज्ञप्ति जारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्