२०८१ श्रावण १२
                           

१० बुँदे घोषणापत्र जारी गर्दै सुकुटे महोत्सव सम्पन्न

‘हामी असान्दर्भिक हुने खतरा छ’ सभामुख सापकोटा

 

सुकुटे- फागुन १७ बाट सुरु भएको प्रथम सुकुटे महोत्सव १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा सुकुटे र आसपासका क्षेत्रका कृषिजन्य वस्तु उत्पादनका लागि स्थानीय तहको अगुवाईमा कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, होटल तथा रिर्सोट आसपासका क्षेत्रमा होमस्टे, फार्मस्टे, अर्गानिक भिलेजको अवधारणालाई प्रोत्साहन गरिने, नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियान सञ्चालन गर्ने विषयलाई समेटिएको छ । त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण र प्रबद्र्धन गरिने, व्यवसायीको लगानी सुरक्षित गर्न लगानीमैत्री वातारण सिर्जना गर्ने, सिन्धुका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्याकेज तयार पारी प्रचार प्रसार गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, सुकुटेलाई पर्यटकीय हव निर्माण गर्ने, स्थानीय परिकारको प्रवद्र्धन गर्ने, सांस्कृतिक क्यालेण्डर निर्माण गर्ने, पर्यटकीय सूचना केन्द्र निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको छ ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नेपालीहरुले तत्कालिन समयमा असान्दर्भिक खतरासँग जुध्नुपर्ने बताएका छन् । ‘प्रविधिको विकास हामे लागि भयानक खतरा भएर उभिदैछ’, सभामुख सापकोटाले भने– ‘तसर्थ खतरासँग जुध्न हामीले विकासका चरणहरु सुधार्न अग्रसर हुनुपर्दछ ।’ आउने चुनौतिलाई सामना गर्न नदीनाला, प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्ने सापकोटाको भनाई थियो ।

आफूले जनताको भावनामाथि कहिल्यै घात नगर्ने बताउँदै सभामुख सापकोटाले लामो सयमदेखि रोकिएको सदनलाई समेत सञ्चालन गर्नुपर्ने बाध्यताको बीच आफू सुकुटे महोत्सवमा आएको बताए । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रको हिसाबले महत्वपूर्ण भएको बताउँदै सापकोटाले सुकुटेमा सञ्चालन भएको प्याराग्लाइडिङ, र्याफ्टिङ लगायतले पर्यटन तान्नमा सघाउ पुगेका बताए ।

प्रतिक्रिया दिनुहोस्