२०८२ कार्तिक २

जिरोदेखि सर्वोच्च’ : प्रेम बानियाँको साहसिक अवधारणामा डकुमेन्ट्री निर्माण

सञ्चारकर्मी तथा डकुमेन्ट्री निर्माता प्रेम बानियाँले नेपालको भूगोल, साहस र पहिचानलाई समेट्ने एक अनौठो तथा साहसिक यात्राको अवधारणा सार्वजनिक गरेका छन्। उनले नेपालकै सबभन्दा होचो भू-भाग झापाको कचनाकवल (५८ मिटर) देखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) सम्मको पैदल यात्रा समेटिएको डकुमेन्ट्री ‘जिरोदेखि सर्वोच्च’ को टिजर सार्वजनिक गरेका हुन्।

यस यात्राको विशेषता भनेको नेपालको भूगोलमा शून्य (तल) देखि सर्वोच्चसम्मको सम्पूर्ण उचाइ समेटिएको ऐतिहासिक सन्देश दिनु हो। यात्रा केवल भूगोलको मात्र होइन, राष्ट्रिय पहिचान, साहस र सम्भावनाको गहिरो कथा पनि हो। ‘जिरोदेखि सर्वोच्च’ डकुमेन्ट्री प्रेम बानियाँको मौलिक परिकल्पना हो जसमा उनले नेपालभित्रै विश्वको ‘सबैभन्दा होचोदेखि सबैभन्दा अग्लो’ उचाइसम्मको कथा जोड्ने सपना देखेका छन्।

डकुमेन्ट्री अझ रोमाञ्चक यस कारण बनेको छ कि यसमा सहभागी छन् – तीनपटक सगरमाथा आरोहण गरिसकेका, हलिउड डकुमेन्ट्रीमा चर्चित, The North Face का ग्लोबल टिम लिडर, आरोहण प्रशिक्षक तथा लेखक कोनराड एन्कर (Conrad Anker)। साथै, विश्व साईकल यात्री पुष्कर शाह पनि यस अभियानमा जोडिएका छन्।

यस साहसिक परियोजनाले नेपाललाई विश्वसामु नयाँ कोणबाट चिनाउने विश्वास लिइएको छ। यो केवल डकुमेन्ट्री होइन, नेपाल र नेपालीताको गहिरो चिनारी, कल्पनाशीलता, अनुसन्धान र राष्ट्रप्रेमको समिश्रण पनि हो।

‘जिरोदेखि सर्वोच्च’ को पहिलो टिजर आज सार्वजनिक गरिएको छ भने पूर्ण डकुमेन्ट्री निकट भविष्यमा सार्वजनिक गरिने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्