२०८३ आश्विन २६

आजदेखि ११ वटा केन्द्रबाट फरक कम्पनीको ग्यास सिलिन्डर साट्न पाइने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्‍याइएको हो ।

नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ । संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपली (भानु ग्यास), ललितपुरको हरिसिद्धि (नेपाल र एचपी ग्यास), कलंकी (गीता ग्यास), खसीबजारस्थित आरके ट्रेडर्स (सीताश्री ग्यास) र सतुंगल (श्रीमाया ग्यास) रहेका छन् ।

यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि (नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास), पेप्सीकोला (सगर ग्यास) र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट (एभरेस्ट र सुगम ग्यास) लिन सकिने व्यवस्था मिलाइएको छ ।

यो साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ । असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् ।

यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ : ३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको हो । साथै, तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जानकारी गराइएको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्