२०८२ असार २
                           

विश्व वातावरण दिवस २०२५ को अवसरमा वृक्षारोपण र र्‍यालीसहित सचेतनामूलक कार्यक्रम सम्पन्न

जेठ २२, सिन्धुपाल्चोक — सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइँदै आएको विश्व वातावरण दिवस यस वर्ष “प्लास्टिक प्रदूषणलाई हराउनुहोस्” भन्ने मूल नाराका साथ मनाइएको छ। वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यका साथ नेपालका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरिएको छ।

यसै सन्दर्भमा हेलम्बु गाउँपालिका वडा नं. ४ मा अवस्थित ईष्ट पोइन्ट एकेडेमी तथा श्री डडुवा भवानी शङ्कर मा.वि., चौ.सा.गढी.न.पा-१४ ले वृक्षारोपण, वातावरणीय र्‍याली जस्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

ईष्ट पोइन्ट एकेडेमीले शिक्षक, शिक्षिका तथा सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागितामा विद्यालय परिसरमा फलफूलका बिरुवासहित विविध जातका विरुवाहरू रोपेको  थियो। बालबालिकाले आफ्नै हातले माटो तयार पार्दै बिरुवा रोप्दा देखिएको उत्साह प्रेरणादायी छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा निकालिएको र्‍यालीमा विद्यार्थीहरूले “विरुवाले धर्ती सजाउ, पृथ्वीलाई बचाउ”, “पानी हाम्रो धन, सुरक्षित जीवन”, “एउटा रुख रोप्ने हो, धुलोमैलो छोप्ने हो” जस्ता नाराहरू प्लेकार्ड र पोस्टरसहित बोकेर चनौटे बजार परिक्रमा गर्दै वातावरणीय सन्देश फैलाएका थिए।

त्यस्तैगरी, श्री डडुवा भवानी शङ्कर मा.वि. अन्तर्गत ‘इको क्लब’को संयोजनमा विद्यालय परिसरबाट सुरु गरिएको र्‍यालीले गाउँ परिक्रमा गरी वातावरण संरक्षणको सन्देश प्रवाह गर्‍यो। कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, क्लब संयोजक श्रेष्ठ, फोकल शिक्षक भूपी सरोवर र सहायक प्रधानाध्यापक सचिन नेपालले सन्देशमूलक मन्तव्यसहित सहभागिता जनाएको थियो। र्‍यालीपछिको चरणमा असारको पहिलो शुक्रबार वृक्षारोपण कार्यक्रम गरिने घोषणा पनि गरिएको छ।

विश्व वातावरण दिवसको ऐतिहासिक पृष्ठभूमिमा सन् १९७२ को जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले वातावरणसम्बन्धी पहिलो विश्व सम्मेलन आयोजना गरेको थियो। त्यस सम्मेलनपछिको वर्ष अर्थात् सन् १९७३ मा पहिलोपटक वातावरण दिवस मनाउन थालिएको हो।

आजको विश्वमा प्लास्टिकजन्य प्रदूषणले मानव स्वास्थ्य, जैविक विविधता र वातावरणमै गम्भीर असर पुर्‍याइरहेको छ। यस्तो सन्दर्भमा यस वर्षको नाराले प्लास्टिकको प्रयोग घटाउने, पुनः प्रयोग गर्ने र वातावरणमैत्री समाधानहरू अवलम्बन गर्न सबैलाई प्रोत्साहन गरिरहेको छ।

ईष्ट पोइन्ट एकेडेमी र डडुवा भवानी शङ्कर मा.वि. जस्ता शैक्षिक संस्थाहरूले विद्यालयस्तरबाटै वातावरणप्रति चेतना फैलाउने प्रयास गर्नु प्रेरणादायी कदम हो। यस्ता कार्यक्रमहरूले शिक्षा र प्रकृतिबीचको सम्बन्ध बुझाउन सहयोग पुग्ने विश्वास प्रधानाध्यापक दामोदर भारतीले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्