२०८२ भाद्र १३

नगरपालिकाको पहलमा निम्न वर्गीय परिवारलाई निशुल्क स्वस्थ्य बिमा,

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका द्वारा प्रदान गरिएको निःशुल्क स्वास्थ्य विमा योजनाले सयौं निम्न वर्गीय नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाएको छ।

“स्वास्थ्य सबैका लागि” भन्ने नारालाई व्यवहारमा उतार्दै नगरपालिकाले जनयुद्ध र जनआन्दोलनका सहिद, बेपत्ता र घाइतेका परिवारलाई प्राथमिकतामा राखी निःशुल्क स्वास्थ्य विमा वितरण गरेको छ।

दोस्रो प्राथमिकतामा दीर्घरोगी, सबै प्रकृतिका अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् भने तेस्रो प्राथमिकतामा दलित, सीमान्तकृत समुदाय, ६० वर्षमाथिका ज्येष्ठ नागरिक र नगरभित्रका खेलाडीहरू समावेश छन्।

१६औँ नगरसभाबाट पारित नीति अनुसार अत्यावश्यक वर्गलाई लक्षित गर्दै स्वास्थ्य विमा वितरण कार्यक्रम सुरु गरिएको हो। यसको प्रारम्भ चौतारा साँगाचोकगढी नगरपालिका ४ नम्बर वडाबाट गरिएको वडा अध्यक्ष कुमार शर्माले जानकारी दिए।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार  स्वास्थ्य सबैको अधिकार हो भन्ने संविधानको मर्मलाई व्यवहारमा उतार्न सेवा पहुँचबिहीन वर्गलाई लक्षित गर्दै यो योजना ल्याइएको हो।

स्वास्थ्य विमा बोर्डमार्फत सञ्चालित यो योजनामा नगरपालिकाले लाभग्राहीको तर्फबाट प्रत्येक व्यक्तिको वार्षिक ३,५०० रुपैयाँ प्रिमियम तिरेको छ। यस योजनाअन्तर्गत देशभरका अस्पतालहरूबाट लाभग्राहीले वार्षिक एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्ने छन्।

चौतारा साँगाचोकगढी नगरपालिकाको यो पहल न केवल स्वास्थ्य सेवाको सुधारतर्फको प्रगति हो, यसले सामाजिक न्याय र समावेशी विकासप्रति नगरको प्रतिबद्धता पनि प्रस्ट्याएको छ। जब राज्य सेवा प्रभावकारी हुन्छ, तब नागरिकको विश्वास बलियो हुन्छ भन्ने उदाहरण यस योजनाले प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्