चौतारा – निशुल्क मानसिक स्वास्थ्य शिविरमा १ सय जना लाभान्वित भएका छन् । आइतबार चौतारा साँगाचोक गढी नगरपालिकामा भएको शिविरमा ५७ जना महिला र ४३ जना पुरुषले मानसिक स्वास्थ्य सेवा लिएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए ।
सबैको लागि सु – स्वास्थ्य परियोजना अन्तर्गत चौतारा साँगाचोक गढी नगरपालिकाको समन्वय र सम्भाव्य फाउण्डेसनको आयोजनामा निशुल्क मानसिक स्वास्थ्य शिविर भएको हो । नगरपालिकाले सहकार्य र समन्वय गरेर औषधि समेत उपलब्ध गराएको र प्राविधिक सहयोग सम्भाव्य फाउण्डेसनले गरेको नेपालले बताए । साथै शिविरमा सेवा लिएकाहरुलाई औषधि नपुगेको वा थप औषधि आवश्यक परेमा एक साताभित्र हातहातमा पु्र्याउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख कृष्ण प्रसाद सापकोटा देशबन्धुले नगरपालिका भित्र मासिक स्वास्थ्य समस्या अन्त्य गर्न शिविरबाट सेवा दिने, नगरपालिकामा दुई जना मनोविमर्शकर्ता रहेको र वडामा पनि परामर्श कर्ता रहेको जानकारी दिए ।
मेयर सापकोटाले भने “नगरपालिकाभित्र यति धेरै मानसिक स्वास्थ्य समस्या भएका विरामी छ जस्तो लाग्दैन थियो तर आजको शिविरबाट यस क्षेत्रमा अझ बढी काम गर्नु पर्ने जिम्मेवारी बोध भएको छ ।” मानसिक स्वास्थ्य समस्या अन्त्यका लागि नीति तथा कार्यक्रममा प्राथमिकता दिई आवश्यकता अनुसार बजेट विनियोजन गर्ने र वडाहरुमा साइको काउन्सिलिङ ब्यवस्था गर्ने मेयर सापकोटाले बताए ।
उनले मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई सकारात्मक ब्यवहार गर्नुपर्ने बताउदै समुदायमा सचेतात्मक कार्यक्रमहरु गर्नुपर्ने र यो समस्या समाधानका लागि हामी सबै जिम्मेवार हुनुपर्ने धारणा ब्यक्त गरे ।
मानसिक स्वास्थ्य समस्या भएमा नजिकैको स्वास्थ्य संस्था वा नगरपालिकाको परामर्शकर्तासंग परामर्श लिन उपमेयर सिता थापाले आग्रह गरिन आफ्नो समस्या खुलेर ब्यक्त गर्ने, तनाब नलिने र सामान्य ब्यक्तिले मानसिक स्वास्थ्य समस्या भएकालाई औषधि उपचार गर्न प्रेरित गर्नुपर्ने भनाइ राखिन ।
संघ प्रदेश र स्थानिय तहको स्वास्थ्य क्षेत्रमा विभिन्न जिम्मेवारी छन् जसमध्ये स्थानिय तहले आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनस्वास्थ्य सेवा नियमावली २०७७ मा उल्लेख छ । सोही अनुरुप नगरपालिकाले समुदायका मानिसका आवश्यकता अनुसार स्वास्थ्य शिविर आयोजना गर्दै आइरहेको छ । शिविर मार्फत आम जनतालाई स्वास्थ्य सेवा दिने र मानसिक स्वास्थ्य परिक्षण गर्ने पहुँचमा पुर्याउने उदेश्यले निशुल्क शिविर आयोजना गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्