२०८२ असार २
                           

विश्व जनसंख्या दिवस सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम गरी मनाइयो

२७ असार ,चौतारा । विश्व जनसंख्या दिवस सिन्धुपाल्चोकमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सबैका लागि लचिलो र समतामूलक भविष्यतर्फ समावेशी तथ्याङ्कको शक्तिलाई अँगालेर भन्ने मुल नाराका साथ सदरमुकाम चौतारामा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विविध कार्यक्रमसहित मनाईएको हो ।

कार्यक्रममा जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जनसंख्याको अवस्था बारे प्रतिवेदन पेश गर्दै जिल्लामा मातृ मृत्यु दर न्यूनिकरण सफल भएको उल्लेख गर्नुभयो । प्रमुख बजगाईँले यो वर्ष सिन्धुपाल्चोकमा प्रत्यक्ष २ र अप्रत्यक्ष २ गरी ४ मातृमृत्यु र ९ नवजात शिशुको मृत्यु भएको बताउनुभयो । अहिले बागमती प्रदेशमा ८७ प्रतिशत संस्थागत सुत्केरी हुने गरेको तथ्याङ्रक प्रस्तुत गर्दै संस्थागत सुत्केरीपछि आमा र बाल मृत्युदरमा कमि आएको बजगाईले बताइन ।

बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीको सभाध्यक्षमा भएको कार्यक्रममा नगर महिला सञ्जालकातर्फबाट गुणकेशरी श्रेष्ठले जनसंख्या सम्वन्धी चेतनामूलक गीत र जुगल बोर्डिङ हाइस्कूलका छात्रा रिति घलेले प्रवचन दिइन।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा समन्वय समितिको हलमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले बढ्दो र घटदो दुबै जनसंख्या कुनै पनि राष्टको लागि चुनौतिपूर्ण रहेको भन्दै जनसंख्यालाई नियन्त्रण भन्दा पनि व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
जनस्वास्थ्य कार्यालयका तिलक विकद्वारा सञ्चालित कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, गैरसकारकारी कार्यालय, नगर सञ्जालका प्रतिनिधि सञ्चारकर्मी लगायतका बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्