श्रावण ७- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ फट्टेमा मोटरेबल पुल निमार्ण हुनेभएको छ । मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट मोटरेबल पुल निर्माण गर्न लागेको हो । २०७८ असार १ गतेको बाढीले मेलम्ची नगरपालिकाको २ वटा पक्कि पुलमा क्षति पुर्याएको थियो । बाढीले पुल बगाएपछि मेलम्ची बजार र मेलम्ची नगरपालिका वडा नम्बर ७,८,९ र १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका बिचको सम्बन्ध टुटेको थियो ।
नगरपालिकाले हिंउदको समयमा अस्थाई रुपमा ह्युम पाइप राखेर यातायात सञ्चालन गरेपनि बर्खाको समयमा नदि बाँधक बन्दा मेलम्ची ७,८ र पाँचपोखरीका १ र२ वडाका नागरिकहरुले ठुलो सास्ती खेप्न परेको छ । इन्द्रावती नदिमा अहिले बेलिब्रिज निमार्ण भएपछि तत्कालका लागि सदरमुकाम जोड्ने सडक सहज रुपमा सञ्चालन भएपछि पक्कि पुल निमार्णका लागि बाटो हेरिरहेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । प्रदेश र सघं सरकारलाई पटक पटक अनुरोध गरेर पुल निमार्णको लागि आग्रह गरेपनि बेवास्ता गरेपछि अहिले नगरपालिका आफैंले पुल निमार्णको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो ।
३ बर्षभित्र सम्पन्न गर्नेगरि बन्न लागेको पुल निमार्णपछि मेलम्ची ७,८,११,पाँचपोखरीको विभिन्न वडा र हेलम्बु गाउँपालिका जानलाई समेत सहज हुने वडा नम्बर ७का वडा अध्यक्ष पासाङ तामाङले बताउनुभयो । प्रदेश सरकारले मेलम्ची नदिको फट्टेमा पक्की पुल निर्माण शिर्षकमा पाँच लाख रुपैया बजेट छुट्याए पनि उक्त बजेटले पुलको डिपिआर गर्न समेत नपुग्ने बताईएको छ । आइतबार बसेको नगर कार्यपालिका बैंठकले तत्काल डिपिआर गरेर टेण्डर प्रक्रिया मार्फत यसैवर्ष पक्कि पुल निमार्ण सुरुगर्ने उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्