२०८१ श्रावण १२
                           

मानव बेचविखन तथा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया सकियो

सिन्धुपाल्चोक ,६ चैत
मानव बेचविखन तथा लैङ्गिक हिंसा प्रभावित, आन्तरीक तथा बाह्य आप्रवासी कामदार र जोखिममा रहेकाहरुको प्रमुख समस्या र आवश्यकतालाई सम्बोधन गर्ने उद्धेश्यले परामर्श बैठक आज मेलम्चीमा सम्पन्न भएको छ । शान्ति फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा शान्ति फाउण्डेशनले गर्दै आएको काम र स्थानिय सरकार सँगको सहभागीताको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले संस्थासँग हातेमालो गर्दै आगामी दिनमा मानव बेचविखन तथा ओसारपसार र लैङ्गिक हिंसा विरुद्धको कार्यमा अगाडी बढ्ने बताउनुभयो । उहाँले वडा वडामा नगरले सचेतनाको कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझै ब्यबस्थित ढंगले कार्यक्रम सञ्चालन गर्ने कुरामा नगरपालिका सकारात्मक रहेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले वैदेशिक रोजगारीको लागि खाडी लगायतको कतिपय देशमा जानेको अवस्था अझैपनि दर्दनाक रहेको पाइएको बताउनुभयो । उहाँले अवैद रुपमा विदेशिनेहरुको संख्यालाई नियन्त्रण गर्नुपर्ने दायित्व तिनै तहको सरकारको भएपनि यो अझै नियन्त्रणमा आउन नसकेको बताउनुभयो । विदेशमा गएर दुःख पाएर फर्किनेहरुलाई सिप मुलक तालिमको ब्यबस्था गर्नु पर्ने अझै विशेषगरी अदक्ष कामदारलाई विदेश जानबाटै रोक्नुपर्नेमा धितालले जोड दिनुभयो ।

उहाँले वैदेशिक रोजगार र हिंसा जन्य अपराध नियन्त्रणका लागि नगरपालिका विभिन्न निकायसँग समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो । संस्थाले अहिले न्युन आय भएका मेलम्ची ७ दुवाचौरका २५ जना नागरिकहरुलाई सिपमुलक कार्यक्रममा जोड्नुका साथै ब्यबशायीक कार्यमा समेत संलग्न गराएको संस्थाका कार्यक्रम ब्यबस्थापक प्रविन शाक्यले जानकारी दिनुभयो ।

संस्थाले विभिन्न तालिम प्रदान,बाख्रा पालनमा सहयोग,विउ बिजन उपलब्ध,पुतली बनाउने जस्ता काममा जोडेर आयस्रोतमा वृद्धि गराएको संस्थाले जनाएको छ । कार्यक्रममा मानव बेचविखन तथा ओसारपसार र लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण त्यस्तै प्रभावितहरुको सशक्तिकरण र पुर्नउत्थानका लागि नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो ।रेडियो मेलम्ची

प्रतिक्रिया दिनुहोस्