सिन्धुपाल्चोक/ बागमती प्रदेश सरकारअन्तर्गतको विपद् व्यवस्थापन समितिले भोटेकोसी र बलेफी (ब्रह्मायणी) नदीको तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली (Early Warning System) जडान गर्ने सैद्धान्तिक निर्णय गरेको छ।
समितिको आज बसेको बैठकले भोटेकोसी र ब्रह्मायणी नदी तटीय क्षेत्रमा विपद्को जोखिम न्यूनीकरण तथा सम्भावित जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली जडान गर्ने निर्णय गरेको हो।
निर्णयपछि विज्ञ तथा सुरक्षा निकायका अधिकारीहरू सम्मिलित प्राविधिक समितिले केही दिनभित्रै सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन गरी आवश्यक पूर्वसूचना प्रणाली, स्थान तथा पूर्वाधारसहितको ठोस प्रस्ताव तयार गर्ने जनाइएको छ। आवश्यक बजेट व्यवस्थापन गरी प्रणाली जडानको प्रक्रिया अघि बढाइनेछ।
यस निर्णयप्रति पूर्व माननीय माधव सापकोटा ‘सुबोध’ले सिन्धुपाल्चोकवासीका तर्फबाट बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेललगायत सम्पूर्ण प्रदेश सरकारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
पूर्व माननीय सापकोटाले उक्त निर्णयले भोटेकोसी र ब्रह्मायणी तटीय क्षेत्रका नागरिकको विपद् जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
उनले सिन्धुपाल्चोकवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा उक्त निर्णयको खुसीको खबर साझा गर्दै आगामी प्रक्रियाले शीघ्रता पाउने अपेक्षा समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्