२०८१ श्रावण १२
                           

गोरुपालक किसानलाई बाह्रबिसे नगरपालिकाको प्रतिहल १० हजारका दरले अनुदान

माघ ४ — बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रत्साहन स्वरूप अनुदान दिएको छ । पालिकाले आज बुधबार एक कार्यक्रममार्फत प्रतिहल १०  हजारका दरले अनुदान दिन सुरु गरेको हो ।   कार्यक्रमका उद्घाटन सांसद मोहनबहादुर बस्नेतले  खेतमा  गोरु जोतेर गर्नुभएको हो ।

नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार  पालिका भित्र ७ सय ७६  हल गोरु छन् । रैथाने कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यस्वरूप प्रति हल १० हजारका दरले ७७ लाख ६० हजार अनुदान दिइने पालिकाले बताएको छ । अनुदान पाउनुपुर्व हल गोरुको अनिवार्य विमा गराउनुपर्ने नियम नगरपालिकाले बनाएको छ ।  वार्षिक ७ सय ५० रकम विमा बापत किसानले बुझाउदा हलीको २ लाख र एक  गोरुको २२ हजारका दरले विमा हुने छ ।

नगर प्रमुख बस्नेतका अनुसार ट्याक्टरजस्ता प्रविधिको प्रयोग भौगोलिक र प्राविधिक रूपमा  जटिल हुने भएकाले नगरले अनुदान दिएर गोरुपालनलाई प्रोत्साहन गरिएको हो । नगरको माटोको उर्वरा शक्ति ह्रास हुँदै आएको कारणले गर्दा उर्वरा शक्ति प्रांगारिक मललाई जोड दिन कृषकलाई अनुदान दिएको पालिकाका प्रवक्ता विमलप्रसाद पौडेलले बताउनुभयो । बाह्रबिसे नगरपालिकाले जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो ।

पालिकाले कृषिलाई लक्षित गरी आलु पकेट क्षेत्र, भोटे कुकुर संरक्षण कार्यक्रम, चौँरी संरक्षण कार्यक्रम, बाख्रापालन कार्यक्रम गर्दै आएको छ । यसका लागि पालिकाले दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्